राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार अन्तिम नामावली प्रकाशित गरेका उम्मेदवारहरुलाई साेमबार निर्वाचन चिन्ह प्रदान गरेको हो।

पुस २८, २०८२

प्रताप विष्ट

Election symbols given to National Assembly candidates

हेटौंडा — बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारलाई सोमबार चुनाव चिन्ह प्रदान गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार अन्तिम नामावली प्रकाशित गरेका उम्मेदवारहरुलाई साेमबार निर्वाचन चिन्ह प्रदान गरेको हो।  

कांग्रेसबाट महिला तर्फ उम्मेदवारी दिएकी गीता देवकोटालाई रुख चिन्ह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरोजकुमारी झालाई पाँचकुने तारा र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी कविता महर्जनलाई मादल चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्। 

यसैगरी अन्य समूहबाट उम्मेदवारी दिएका एमालेका प्रेम प्रसाद दंगाललाई सूर्य चिन्ह प्रदान गरिएको छ। नेकपाका उम्मेदवार प्रेमप्रसाद सापकोटालाई पाँचकुने तारा र नेमकिपाको तर्फबाट उम्मेदवार भएका विक्रम डुकुछुलाई मादल चिन्ह प्रदान गरिएको छ। 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि एक महिलासहित दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका छन्।   

बागमती प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभाको दुई सिटमा पुस २३ गते ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका कार्यक्रम रहेको छ। बागमती प्रदेशमा आगामी फागुनमा पदावधि सकिने राष्ट्रियसभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन्। 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully