एआई कन्क्लेभको पहिलो दिनमा नेसनल एआई समिट २०२६ आयोजना गरिएको छ । समिटमा काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झा, नेक्स्ट एआई गुगल डेभलपर्स एक्सपर्ट इन मेसिन लर्निङका फाउण्डर क्षितिज रिमाल र रिसर्च साइन्टिस्ट डा विपेन्द्र बस्न्यातको एआईसम्बन्धी विविध विषयमा प्रस्तुति रहेको छ ।
What you should know
काभ्रे — धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा एआई कन्क्लेभ २०२६’ सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्सअन्तर्गत रहेको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा सोमबारबाट एआई कन्क्लेभ सुरु भएको हो ।
क्लबमार्फत सञ्चालन गरिएको ‘एआई कन्भर्जेन्स’अन्तर्गत दोस्रो चरणको कार्यक्रममा एआई कन्क्लेभ आयोजना गरिएको हो । एआई कन्क्लेभको औपचारिक उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले अहिले डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निकै नै अपरिहार्य भएको बताए । यो कार्यक्रमले देशमा आवश्यकता रहेको एआईको सदुपयोग गरी जनशक्ति उत्पादन गर्न, प्रविधि विकास गर्न, यसलाई व्यवसायीकरण र प्रवर्द्धन गर्न केन्द्रित हुन उनले आग्रह गरे । ‘देशलाई एआईयुक्त नेपाल बनाउने यात्रा यहाँबाट सुरु भएको छ, यो यात्रा निरन्तर चलिरहनेछ,’ उनले भने ।
एआई कन्क्लेभको पहिलो दिनमा नेसनल एआई समिट २०२६ आयोजना गरिएको छ । समिटमा काठमाडौं विश्वविद्यालयका प्रा.डा. सुदन झा, नेक्स्ट एआई गुगल डेभलपर्स एक्सपर्ट इन मेसिन लर्निङका फाउण्डर क्षितिज रिमाल र रिसर्च साइन्टिस्ट डा. विपेन्द्र बस्न्यातको एआईसम्बन्धी विविध विषयमा प्रस्तुति रहेको छ ।
‘लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) ओबेसिटी’ समिटको मुख्य थिमममा रहेर प्यानल डिस्कसन हुनेछ । प्यानलमा काठमाडौं विश्वविद्यालयका प्रा.डा मनोज शाक्य, ज्यरासफ्टका फाउन्डर तथा डिरेक्टर राम शर्मा भट्टराई, ट्यालेन्ट डेभलपमेन्ट फ्युजमेसिनका सिनियर म्यानेजर रोजेशमान शिख्रकार र स्कुल अफ आईटी नेपाल खुल्ला विश्वविद्यालयका प्रमुख डा.भोजराज घिमिरेले छलफल गर्नेछन् ।
नवप्रवर्तन, नेतृत्व विकास, नयाँ सीप सिकाइ तथा एकेडेमिया र इन्डस्ट्रीबीचको खाडल कम गर्न केयुएआई क्लबले हरेक वर्ष एआई सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष अशिम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको कार्यक्रमलाई परिमार्जित र परिष्कृत गर्दै अझ संरचित र प्रभावकारी बनाउँदै ‘एआई कन्भर्जेन्स’ आयोजना गरिएको हो ।
तीन चरणमा ‘एआई कन्भर्जेन्स २०२६’ सञ्चालन गरिएको एआई कन्भर्जेन्सका संयोजक रंजित राउतले बताए ।
