हेटौंडाको माछापालनमा भेटिए साइबेरियाबाट आएका पानी हाँस

जाडो छल्न र आहाराको खोजीमा पानी हाँस यो क्षेत्रमा आएको वर्ड कन्जरभेसन नेपाल (विसिएन) हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले बताए।

पुस २७, २०८२

प्रताप विष्ट

Water ducks from Siberia found in Hetauda fishery

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-५ माछापालन क्षेत्रमा दुई दर्जन बढी साइबेरियाबाट जाडो छल्न आएका पानी हाँस (जलेवा) फेला परेका छन्।

जलपन्छी गणना गर्ने टोलीले आइतबार ठूलो खालको जलेवा अर्थात पानी हाँस फेला पारेको हो। 

साइबेरियाबाट जाडो छल्न र आहाराको खोजीमा पानी हाँस यो क्षेत्रमा आएको वर्ड कन्जरभेसन नेपाल (विसिएन) हेटौंडा शाखाका कोर्डिनेटर विवेक मेहताले बताए। ‘यहाँ सानो र ठूलो खालको दुई थरीका जलेवा भेटिए,’ उनले भने, ‘ठूलो खालको जलेवा साइबेरियालगायत अरु देशबाट जाडो छल्न र आहाराको खोजीका लागि यहा आएको हो, सानो खालको रैथााने हो ।’ हेटौंडा-५ पिप्लेस्थित मत्स्य केन्द्रमा दुई दर्जन भन्दाबढी माछाका पोखरी छन्। 

देशव्यापी रुपमा पानीमा आश्रित चराको गणना गर्ने क्रममा हेटौंडामा शनिबार कुखुरेनी र राप्ती खोलाको दोभानबाट मेहताको टोलीले चरा गणना सुरु गरेको हो । शनिबार राप्ती खोलामा तिलहरी र कमन मर्गेनजर चरा फेला पारेका थिए । 

आइतबार माछापालन क्षेत्र चरा गणना गरिएको छ भने अन्तिम दिन सोमबार कर्रा खोलाको क्षेत्रमा चरा गणना गरिने कोर्डिनेटर मेहताले बताए । चरा गणनामा हेटौंडामा २५ जना भन्दा बढी खटिएका छन् ।  

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully