निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम राखेको छ।
What you should know
हेटौंडा — बागमती प्रदेश निर्वाचन कार्यालयले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
आइतबार १ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको थियो। उक्त समयभित्र कसैले पनि नाम फिर्ता नलिएकाले ६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।
बागमतीमा एक महिलासहित दुई पदकालागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा एमालेको अन्य तर्फ समूहमा काठमाडौंका प्रेम दंगाल र कांग्रेसले महिला तर्फबाट चितवनकी गीता देवकोटाको नाम रहेको छ । कांग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका छन्।
नेपाल मजदुर किसान पार्टीबाट महिलातर्फ कविता महर्जन र अन्यमा विक्रम डुकुछुको नाम रहेको छ। नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट सिन्धुपाल्चोकका प्रेम सापकोटा र महिलातर्फ काठमाडौंकी सरोजकुमारी झाको उम्मेदवारी परेको छ। उम्मेदवारकाविरुद्धमा कसैको उजुरी पनि नपरेको र नाम पनि फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवारहरुलाई सोमबार चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका रहेको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम राखेको छ।
देशभर १८ पदका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुनेमा बागमती प्रदेशबाट एक महिलासहित दुई सिटमा निर्वाचन हुँदै छ। महिला तर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका वेदुराम भुसालको फागुन २० समयावधि सकिने भएकाले ऊक्त रित्त पदमा माघ ११ गते निर्वाचन हुने बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए।
माघ ११ गते हुने निर्वाचनमा बागमती प्रदेशमा मतदाताको संख्या ३४७ जना रहेको छ । बागमती प्रदेशका ११० प्रदेशसभा सदस्य र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता हुन्पुर्नेमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलम्बित भएका कारण मतदानबाट बन्चित भएकाले ३ सय ४७ जनामात्र मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख ढकालले बताए।
बागमतीका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल तोकेको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत श्रेष्ठले बताइन्। प्रदेशसभा सदस्य एक जनाको मतभार ५३ रहने छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार रहने छ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छन्। यस्तै, एमालेको प्रदेशसभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रका प्रदेशसभामा २१ र स्थानीय तहमा ५७ सिट, राप्रपाको प्रदेश सभामा १३ र स्थानीय तहमा १ सिट, एकीकृत समाजवादीको प्रदेशसभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेशसभामा ३ र स्थानीय तहमा २ तथा हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ र स्थानीय तहमा १ सिट रहेका छन्।
बागमती प्रदेशमा कुल मतभार १० हजार ३३३ रहेकोमा कांग्रेसको ३ हजार ९९४ मतभार रहेको छ भने २ हजार ७३८ मतभार छ। एमाले २ हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार रहेको छ। नेपाल मजदुर किसान पार्टीको १९७ मतभार रहेको छ भने हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार रहेको छ ।
