पाहार ताप्दै गरेको राजगोमन अर्थात् ‘किङ कोब्रा’

खोरियामुहानदेखि पश्चिम देवितालतर्फ जाँदै गर्दा बाटोमा राजगोमन भेटिएको थियो । यो राजगोमन तराईदेखि उच्च पहाडी भेगसम्म भेटिने गरेको छ ।

पुस २५, २०८२

रमेशकुमार पौडेल

The King Cobra, also known as the 'King Cobra', is warming up the mountain.

चितवन — राजगोमन अर्थात् ‘किङ कोब्रा’ विषालु सर्पमध्ये मोटाई र लम्बाईका हिसाबले सबैभन्दा ठूलो सर्प मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका ताल तलैयाहरुमा हिउँदमा बसाइँ सरेर आउने पानीमा आश्रित चराहरु गणना गर्न मेघौली घटगाइ नेचर गाइड एशोसियनको अध्यक्ष मनेश लिम्बुको नेतृत्वमा गएको टोलीले बिहिबार दिउँसो सिमलको रुखको फेँदमा घाम तापेर बसेको यो राजगोमन देखेको हो ।

खोरियामुहानदेखि पश्चिम देवितालतर्फ जाँदै गर्दा बाटोमा राजगोमन भेटिएको थियो । यो राजगोमन तराईदेखि उच्च पहाडी भेगसम्म भेटिने गरेको छ ।

‘मुख्य रुपले यसको बसोबास तराई क्षेत्रमा नै हो । तर यो सर्पको विषेशता भनेको धेरै हिँडडुल गर्दै परपरसम्म पुग्ने पनि हो । यो उच्च भेगसम्म डुल्दै पुगेको रेकर्डहरु छन्,’ विषालु सर्पहरुका बारेमा विद्यावारिधी गरेका देवप्रसाद पाण्डेले भने ।

यसको मुख्य आहारा नै अन्य सर्प हो । तर अरु जीवहरु पनि खाने गरेको पाण्डे बताउँछन् । यसको विष निकै घातक हुन्छ । ठूलो हात्तीसमेत मार्नसक्ने सार्थ्य राख्छ ।

‘तर विष प्रयोगमा यो ज्ञानी र चलाख जस्तो पनि देखिन्छ । यसले अवस्था हेरेर विषको मात्रा प्रयोग गर्दछ । भएभरको विष एकै पटक प्रयोग गर्दैन,’ पाण्डेले भने । सायद यही विषेशताले होला नेपालमा राजगोमनले टोकेर मान्छे मरेको घटना कमै छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully