बिहीबार बसेको बागमती मन्त्रिपरिषद् बैठकले समितिको रिक्त अध्यक्ष पदमा शिवप्रसाद सिग्देललाई नियुक्त गर्दै सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई मनोनयन गर्ने निर्णय गरेको हो।
हेटौंडा — बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई तीव्र बनाउन ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ पुनर्गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको रिक्त अध्यक्ष पदमा शिवप्रसाद सिग्देललाई नियुक्त गर्दै सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई मनोनयन गर्ने निर्णय गरेको हो।
सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा गरिएको उक्त निर्णयले समस्यामा परेका सहकारीहरूको अनुगमन, व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षणमा सहयोग पुग्ने सरकारको विश्वास छ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार समितिलाई सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानमा सक्रिय रुपमा परिचालन गरिनेछ।
यसैगरी मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालन हुँदै आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ।
सेवाग्राहीको पहुँच विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोगशाला भक्तपुर सार्ने निर्णय गरिएको सरकारका प्रवक्ता तामाङले बताए। उक्त बैठकले स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावअनुसार ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनसम्बन्धी तेस्रो कार्यविधि संशोधनलाई समेत स्वीकृत गरेको छ।
