भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष ०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट ल्याएको थियो ।
What you should know
चितवन — भरतपुर महानगरपालिकाले विभिन्न योजना लागु गरे पनि तिनका लागि विनियोजित बजेट खर्च गर्न सकेको छैन।
महानगरले पछिल्लो पाँच महिनामा जम्मा २० प्रतिशत बजेट गरेको छ। महानगरपालिकाले चालु आर्थिक वर्ष ०८२/८३ का लागि अनुमानित ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट पेश भएको थियो ।
जसमध्ये चालुतर्फ २ अर्ब ६१ करोड ७८ लाख १८ हजार र पूँजीगततर्फ २ अर्ब ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँ बिनियोजन गरेको छ। पुस पहिलो सातासम्म महानगरले समग्र बजेटको २० प्रतिशत मात्र खर्च भएको जनाएको छ।
महानगरपालिकाको गत पुस ८ गते भएको १८ औं नगरसभामा उपमेयर चित्रसेन अधिकारीले चालु तर्फ २९ प्रतिशत र पूँजिगततर्फ ११ प्रतिशत बजेट खर्च गरिएको जनाए । उनका अनुसार समग्रमा २० प्रतिशत बजेट खर्च भएको हो। पूँजीगततर्फ २८ करोड ५१ लाख ३१ हजार रुपैयाँ खर्च भएको हो । यस अन्तर्गत विकास निर्माण कार्यमा हुने खर्च रहेका छन् ।
उक्त नगरसभामा मेयर रेनु दाहालले सहरी पूर्वाधार विकास तर्फ मुख्य तथा गौरवका आयोजनामा भएको प्रगति र खर्च प्रस्तुत गरेकी थिइन् । महानगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा ४१ करोड रुपैयाँ खर्च गरिएको छ । भवनको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले बताइन् । गौतमबुद्ध क्रिकेट रंगशालामा ३४ करोड ८० लाख खर्च गरिएको छ । रंगशालाको ४२ प्रतिशत निर्माण कार्य सकिएको छ ।
सघन सहरी विकास आयोजना र महानगरपालिकाबाट बजेट विनियोजन गरेर पुङ्गिोला सौन्दर्यकरणको काम भइरहेको छ । यसमा १७ करोड ४० लाख रुपैयाँ खर्च भइकेको छ । चालु वर्ष यसमा ३ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताइन् ।
महानगरपालिकाको महत्वपूर्ण आयोजना अन्तर्गत देवघाट धाममा विद्युतीय शवदाह गृह निर्माण पूरा भएको छ। महानगरले अन्य पूर्वाधार तर्फ रकम खर्च गर्दै आए पनि फोहर मैला व्यवस्थापनतर्फ ठोस प्रगति गर्न सकेको छैन।
महानगरले व्यवस्थित ल्याण्डफिल साइट निर्माणको कामलाई नीति तथा कार्यक्रममा समावेश गरे पनि निर्माण गर्न सकेको छैन । महानगरबाट प्रत्येक दिन ८० टन भन्दा बढी फोहर उत्सर्जन हुँदै आएको छ । उक्त फोहोर नगरका विभिन्न स्थानमा अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ ।
गत असारमा १७ औं नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै मेयर दाहालले फोहर मैला व्यवस्थापनका लागि आधुनिक पूर्वाधारसहितको ल्याण्डफिल साइट निर्माण गर्ने योजना सुनाएकी थिइन् । त्यसका लागि सार्वजनिक नीजि साझेदारी मोडल अपनाउने घोषणा गरेकी थिइन्। तर, अहिलेसम्म फोहोर व्यवस्थापनको टुंगो लाग्न सकेको छैन ।
