मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिने

इच्छुकले माघ १ गतेसम्म दर्खास्त दिन सक्ने

पुस २४, २०८२

प्रताप विष्ट

1,923 election police officers to be recruited in Makawanpur

हेटौंडा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो।

भर्ना गरिने कुल संख्यामध्ये कम्तीमा ३३ प्रतिशत महिला रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको हो। इच्छुकले माघ १ गतेसम्म दर्खास्त दिन सक्नेछन्। प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बिदाका दिनमा पनि आवेदन लिइने उल्लेख गरिएको छ।

सूचनाअनुसार निर्वाचन प्रहरी छनोटमा पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइनेछ।

यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक सेवा प्रदान गरेका व्यक्ति तथा विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरूलाई पनि प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

यसैबीच, प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले सूचना जारी गर्दै देशभर १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गरिएको जनाएको छ। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना खुलाएको हो।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully