बागमतीमा दुई पदका लागि हेटौंडामा बुधबार ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् ।
What you should know
हेटौंडा — राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमालेका उम्मेदवारले हेटौंडामा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले अन्यको कोटामा काठमाडौंका डा. प्रेम दंगाल र नेपाली कांग्रेसले चितवनकी गीता देवकोटालाई उम्मेदवारी दर्ता गराएका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा एमाले र कांग्रेसका कार्यकर्ताहरु संयुक्त रुपमा उपस्थित भएर उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट राष्टिय सभाको सदस्यका लागि महिलातर्फको कोटामा कविता महर्जन र अन्यको कोटामा विक्रम डुकुछुले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट सिन्धुपाल्चोकको प्रेम सापकोटा र महिलातर्फ काठमाडौंकी सरोजकुमारी झाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने बागमतीमा सदस्य दुई पदका लागि माघ ११ गते हुने निर्वाचनको निम्ति निर्वाचन अधिकृत कार्यालय हेंटौडामा बुधबार तीन महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । एमाले र कांग्रेसले मिलेर उम्मेदवारी दिएका छन भने नेकपा र नेमकिपाले छुट्टाछुट्टै उमेदवारी दिएका छन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली मंगलबार प्रकाशित गरिसकेको छ ।
आगामी फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन् । देशभर १८ पदका लागि राष्ट्रिय सभा सदष्य निर्वाचन हुनेमा बागमती प्रदेशबाट एक महिलासहित दुई सिट निर्वाचन हुँदै छ । महिला कोटातर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका नेता बेदुराम भुषालको फागुन २० समयावधि सकिँदै छ । एक महिलासहित अन्य एक गरेर दुई जना रिक्त रहेको राष्ट्रिय सभा सदस्यका निम्ति माघ ११ गते निर्वाचन हुन लागेको हो ।
मतदाताको संख्या ३४७ जना रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगर प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता हुनु पर्नेमा निर्वाचन अधिकृत कार्यालय हेटौंडाले सार्वजनिक गरेको मतदाताको सूचीमा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतदाता सूचीमा २३७ जनाको मात्र नाम रहेकाले राष्ट्रिय सभा सदस्य पदका लागि ३४७ जनाको मताधिकार रहने भएको हो । नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलम्बित भएका कारण मतदानबाट वन्चित भएकाले ३ सय ४७ जनामात्र मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख हरिप्रसाद ढकालले बताए ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम रिक्त हुन आउने राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ । रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने भएको हो ।
बागमतीका लागि हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माविमा मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । प्रदेश सभा सदस्यको एक जनाको मतभार ५३ रहने छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार रहने छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छन् । यस्तै, एमालेको प्रदेश सभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेश सभामा २१ र स्थानीय तहमा ५७ सिट, राप्रपाको प्रदेश सभामा १३ र स्थानीय तहमा १ सिट, नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेश सभामा ३ र स्थानीय तहमा २ सिट, तथा हाम्रो नेपाली पार्टीको प्रदेश सभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन् ।
बागमती प्रदेशमा कुल मतभार १०,३३ र ३ रहेकोमा कांग्रेसको तीन हजार ९९४ मतभार रहेको छ भने नवगठित नेकपाको प्रदेश सभा सदस्य २८ र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ६६ जनासहित ९५ जनाको कुल दुई हजार ७३८ मतभार छ ।
एमाले दुई हजार ५७१ मतभारसहित तेस्रो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७०८ मतभार रहेको छ । नेपाल मजदुर किसान पार्टीको १९७ मतभार रहेको छ भने हाम्रो नेपाली पार्टीको १०६ मतभार र स्वतन्त्रको १९ मतभार रहेको छ ।
