एमालेबाट चितवन–२ मा १५ र ३ बाट ६ जना आकांक्षी

‘१५ जनाको नाम आएको हुँदा हामीले सबै नाम जिल्लामा पठाएका छौं,’ एमाले चितवन–२ का क्षेत्रीय सचिव प्रकाश आचार्यले भने।

पुस २२, २०८२

रमेशकुमार पौडेल

UML has 15 aspirants in Chitwan-2 and 6 from 3.

चितवन — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार हुन एमालेबाट चितवन–२ मा १५ र चितवन–३ मा ६ जना आकांक्षीको नाम जिल्ला समितिमा सिफारिस भएको छ।

चितवन–२ मा २०७० को संविधानसभा सदस्य निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका तथा २०७९ को निर्वाचनमा पराजित कृष्णभक्त पोखरेलको नाम पनि समावेश छ।

पोखरेलसहित २०७४ मा वागमती प्रदेशसभामा विजयी भइ २०७९ को स्थानीय निर्वाचनमा राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरका उम्मेद्वार बनेका विजय सुवेदी, २०७४ को स्थानीय निर्वाचनमा भरतपुरकै मेयरको उम्मेद्वार रहेका देवीप्रसाद ज्ञवाली, पोल्ट्री व्यवसायी डा.तिलचन्द्र भट्टराई, बागमती प्रदेशसभा सदस्य कृष्ण सिलवाललगायतको नाम सिफारिस भएको छ । ‘१५ जनाको नाम आएको हुँदा हामीले सबै नाम जिल्लामा पठाएका छौं,’ चितवन–२ का क्षेत्रीय सचिव प्रकाश आचार्यले भने।

त्यसैगरी चितवन–३ मा राष्ट्रियसभाका पूर्वसदस्य पार्वती रावलसहित ६ जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको छ। चितवन–१ बाट एमालेले यसअघि ६ जना आकांक्षीको नाम जिल्लामा सिफारिस गरिसकेको छ । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully