राष्ट्रिय सभा निर्वाचन: मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता भोलि

आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभा सदस्यको माघ ११ हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय बागमतीले अन्तिम मतदाता नामावली मंगलबार प्रकाशित गरेको हो।

पुस २२, २०८२

प्रताप विष्ट

National Assembly Election: Voter list publication, nomination registration tomorrow

What you should know

हेटौंडा — राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभा सदस्य प्रदेश निर्वाचन कार्यालय बागमतीले अन्तिम मतदाता नामावली मंगलबार प्रकाशित गरेको हो। बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदाताको संख्या ३ सय ४७ जना रहेको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्य र १ सय १९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २ सय ३७ गरी ३ सय ४७ जना मतदाता छन्। निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले सार्वजनिक गरेको मतदाताको सूचीमा नगरपालिकाका नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा निलम्बित भएका कारण मतदान गर्न पाउने छैनन्।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिन लागेको छ । रिक्त हुने पदमध्ये एक जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने र १८ जनाका लागि निर्वाचन हुने भएको हो । 
बागमती प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई जनाका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए । 

आगामी फागुनमा पदावधि सकिने राष्ट्रिय सभाका सदस्य दुवै जना नवगठित नेपाली कम्युनिस्ट पार्टीका हुन् । महिला तर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका वेदुराम भुसालको फागुन २० समयावधि सकिँदै छ । 

बागमतीका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमा २ वटा केन्द्र रहने निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । प्रदेशसभा सदस्यको एक जनाको मतभार ५३ रहने छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ रहने छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १ सय ७ सिट छन् । यस्तै, एमालेका प्रदेशसभामा २७ र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेशसभामा २१ र स्थानीय तहमा ५७, राप्रपाको प्रदेशसभामा १३ र स्थानीय तहमा १, एकीकृत समाजवादीको प्रदेशसभामा ७ र स्थानीय तहमा ९, नेमकिपाको प्रदेशसभामा ३ र स्थानीय तहमा २ तथा हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ र स्थानीय तहमा १ सिट रहेका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully