काभ्रे अदालतमा पाँच महिनामा बैंकिङ कसूरका १५४ मुद्दा

चेक अनादरका रूपमा चल्दै आएका मुद्दा अहिले बैंकिङ कसुर अन्तर्गत दर्ता हुन थालेपछि बैंकिङ कसुर सम्बन्धी मुद्दाको संख्या बढेको हो।

पुस २२, २०८२

ज्योती श्रेष्ठ

154 banking offense cases in Kavre court in five months

What you should know

काभ्रे — जिल्लामा पाँच महिनायता बैंकिङ कसूरका १ सय ५४ मुद्दा दर्ता भएका छन्।

जिल्ला अदालत काभ्रेमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो पाँच महिनामा १ सय ५४ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएका हुन्।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले पछिल्लो पाँच महिनामा काभ्रेमा बैंकिङ कसुर सम्बन्धी मुद्दाको संख्यामा बृद्धि भएको बताए। उनका अनुसार विगतमा चेक अनादरका रूपमा चल्दै आएका मुद्दा अहिले बैंकिङ कसुर अन्तर्गत दर्ता हुन थालेपछि बैंकिङ कसुर सम्बन्धी मुद्दाको संख्या बढेको हो।

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दर्ता भएका नयाँ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये ६ सय ५ वटा फर्छ्यौट गरिएको जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालतमा साउनदेखि मंसिरसम्म ७ सय ३५ वटा नयाँ मुद्दा दर्ता भएका छन्।

अघिल्लो आर्थिक वर्षबाट १ हजार ४ सय ६२ वटा जिम्मेवारी सरेर आएका थिए। नयाँ दर्ता र जिम्मेवारी सरेका गरी मंसिरसम्म १ हजार ५ सय ९२ वटा मुद्दा बाँकी रहेका थिए। जसमध्ये ६ महिना अवधिका २ सय १८ वटा, एक वर्ष अवधिका २ सय ६९ वटा, डेढ वर्ष अवधिका ७९ वटा, २ वर्ष अवधिका २६ वटा र २ वर्ष नाघेका ११ वटा मुद्दा फर्छ्यौट भएका छन्। 

अदालतले मुद्दाको फर्छ्यौंटसँगै फैसलाको पूर्णपाठ तयार र फैसला कार्यान्वयनलाई पनि तीब्रता दिइरहेको स्रेस्तेदार इन्दिरा कार्कीले बताइन्। उनका अनुसार साउनदेखि मंसिरसम्म अघिल्लो वर्षको जिम्मेवारी सरेको ६ सय २८ र यो वर्षको ६ सय ५ गरी तयार पार्नुपर्ने १ हजार २ सय ३३ फैसलामध्ये ९ सय ७० वटा मुद्दाको फैसला तयार भइसकेको छ। यस्तै फैसला कार्यान्वयन तर्फ निवेदन परेका ६ सय १३ मध्ये १ सय ८५ वटा फर्छ्यौट भई ४ सय २७ वटा बाँकी रहेका छन् ।

मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिए पनि काभ्रेमा मेलमिलापको सफलता दर भने सन्तोषजनक देखिएको छैन। चालु वर्षमा मेलमिलापमा पठाइएका १ सय २९ मुद्दामध्ये जम्मा १६ वटा मात्रै मेलमिलापबाट टुंगिएका छन् ।

अदालतमा तीन जना न्यायाधीश कार्यरत रहे पनि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक जना न्यायाधीश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा खटिनु पर्ने भएकाले आगामी दिनमा मुद्दा फर्छ्यौटको लक्ष्य पूरा गर्न चुनौती थपिएको न्यायाधीश मातृका प्रसाद आचार्यले बताए।  

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully