ट्राफिक प्रहरीलाई घाइते बनाउने चालकलाई ज्यान मार्ने उद्योगमा मुद्दा

शुक्रबार राति कार रोकेर ब्रेथलाईजर मेसिनबाट मापसे जाँच गर्न लाग्दा चालकले एक्कासी सिसा बन्द गरेर प्रहरीलाई १० मिटर परसम्म सडकमा घिसारेर भागेका थिए।

पुस २१, २०८२

प्रताप विष्ट

Case filed against driver who injured traffic police officer and killed him

हेटौंडा — हेटौंडाको नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको कारलाई ट्राफिक प्रहरीले मापसे जाँच गर्ने क्रममा प्रहरीलाई नै घिसारेर फरार भएका चालकलाई ज्यान मार्ने उद्योगमा र सवारीधनीलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको छ।

कारचालक हेटौंडा उपमहानगरपालिका-५ गर्दोईका ४६ वर्षीय वासुदेव आचार्यलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। 

कारधनी हेटौंडा-१९ की ४३ वर्षीया राधिका विकलाई अभद्र व्यवहार कसुरको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए। कारधनी विकले घटनामा संलग्न कार र चालकलाई भगाउन सहयोग गरेको प्रहरीको आरोप छ । चालक आचार्य  र कारधनी विकलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।

हेटौंडा–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक कार्यालयको टोलीले शुक्रबार राति कार रोकेर ब्रेथलाईजर मेसिनबाट मापसे जाँच गर्न लाग्दा चालकले एक्कासी सिसा बन्द गरेर प्रहरीलाई १० मिटर परसम्म सडकमा घिसारेर भागेका थिए। कारले सडकमा घिसारेर लैजाँदा प्रहरीको टाउको, हात र खुट्टामा चोट लागेको थियो। प्रहरीको टाउकोमा १८ वटा टाका लगाइएको छ। उनको उपचार हेटौंडास्थित सहकारी अस्पतालमा भइरहेको छ।

जाँच गर्न खोज्दा प्रहरीलाई घाइते बनाउने कारको खोजतलास गर्ने क्रममा शनिबार चितवन भरतपुरबाट बा ६ च ८४०९ नम्बरको ब्रेथलाईजर मेसिनसहित कार र चालक आचार्यलाई पक्राउ गरिएको थियो । कारधनी विकलाई घरबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चालकले ब्रेथलाईजर मेसिनसहित कार भगाएका थिए  । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully