भीमफेदी दुर्घटना : ४ मृतकको सनाखत, चालकसहित २ घाइतेलाई उपचारका लागि भरतपुर लगियो

दुईजना मृतकको पहिचान हुन सकेको छैन । दुवै पुरुष हुन् । उनीहरुको शव हेटौंडा अस्पतालमा रहेको छ ।

पुस २१, २०८२

प्रताप विष्ट

Bhimphedi accident: 4 dead identified, 2 injured including driver taken to Bharatpur for treatment

What you should know

हेटौंडा — हेटौडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको हेटौंडा—भीमफेदी—कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका—६ जुरीखेतमा आइतबार अपराह्न भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत भएको छ । 

हेटौंडा उपमहानगरपालिका—४ का ४० की सविता लम्साल, हेटौंडा—२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको सनाखत भएको  प्रहरीले जनाएको छ । २ जना मृतकको पहिचान हुन सकेको छैन । दुवै पुरुष हुन् । उनीहरुको शव हेटौंडा अस्पतालमा नै रहेको छ ।

हेटौंडा—४ की मृतक सविता हेटौंडास्थित नवोदय शिशु निकेतनकी शिक्षिका पनि हुन् ।

दुर्घटनामा तीन जना घाइते छन् । हेटौंडा—४ मा बस्दै आएका सुमो चालक गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर—२ का २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

चालक थापा र बालक लम्साललाई थप उपचारका निम्ति भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए । चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।  

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो  । उक्त स्थानमा यसअघि पनि ३ वटा हलुका सवारीसाधन दुर्घटना भएका थिए ।

वैदेशिक रोजगार बोर्डको प्रमुख थानेश्वर देवकोटासहित चढेको गाडी तीन वर्षअघि उक्त स्थानमा दुर्घटना हुँदा देवकोटासहित २ जनाको मृत्यु भएको थियो ।

काठमाडौंतर्फवाट आउँदा ओरालो पर्ने भएकाले गाडीमा ब्रेक नलागेर  उक्त स्थानमा दुर्घटना हुने गरेको छ । उक्त जोखिम क्षेत्रमा रेलिङ पनि छैन । 

सुमो दुर्घटनास्थलमै छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully