गुण्डागर्दी शैलीमा उमेदवारका आकांक्षीलाई अपमान गरेर अध्यक्ष र एकल सिफारिस गर्न लगाएकाले राजीनामा दिएको जिल्ला कमिटि उपसचिव हरि ओलीले बताए।
What you should know
दोलखा — एकलौटी ढंगमा उमेदवार सिफारिस गरेको भन्दै दोलखा एमालेका उपसचिवसहित १० जनाले पदबाट राजीनामा दिएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि शनिबारदेखि बसेको एमाले जिल्ला कमिटि बैठकमा अध्यक्ष नरबहादुर श्रेष्ठले एकलौटी निर्णय गरेपछि उमेदवारका आकांक्षी बालकृष्ण शिवाकोटीले प्रतिवाद गरेका थिए । त्यसपछि बैठकमा हात हालाहालको अवस्था भएको एक जिल्ला कमिटि सदस्यले बताए।
उमेदवारका आकांक्षी, रचना खड्का, श्याम बस्नेत, डबल पाण्डे र बालकृष्ण शिवाकोटी भए पनि गुरुङ र श्रेष्ठले एकलौटी गरेर नाम सिफारिस गरेको भन्दै उपसचिव तथा एमाले दोलखाका प्रचार विभाग प्रमुख हरि ओलीसहित १० जना भन्दा बढीले पार्टीको कुनै पनि कमिटिमा नरहनेगरी राजीनामा घोषणा गरेका छन्।
गुण्डागर्दी शैलीमा उमेदवारका आकांक्षीलाई अपमान गरेर अध्यक्ष र एकल सिफारिस गर्न लगाएकाले राजीनामा दिएको उपसचिव ओलीले बताए।
अध्यक्ष श्रेष्ठ र नेता गुरुङले उम्मेदवारी सिफरिसमा गरेको शैलीले कार्यकर्ता रुष्ट बनेको अर्का जिल्ला कमिटि सदस्य निलकुमार खुलालले बताए । ‘वडातहसम्म पार्टी अध्यक्ष र गुरुङको शैलीदेखि कार्यकर्ता रुष्ट छन्,’ उनले भने, ‘वडाबाट सिफारिस हुन कठिन हुने भएकाले एकलौटी ढंगले कार्यकर्ताको अपमान गरेर सिफारिस गरिएको छ ।’
उमेदवारका आकांक्षी बालकृष्ण शिवाकोटीले पार्टीमा विचार भन्दा पनि गुण्डागर्दी शैली मौलाएको आरोप लगाए । शिवाकोटी २०७९ को निर्वाचनमा ३ सय १५ मतले पराजित भएका थिए।
सिफरिस भएका पूर्वमन्त्री गुरुङले २०७० र २०७४ को निर्वाचनमा जित हासिल गरेका थिए । २०७४ मा उनी प्रधानमन्त्री हुँदा उनी महिला बालबालिका तथा जेष्ठ नागरिक र सूचना सञ्चार तथा प्रविधी मन्त्री बनेर सरकारको प्रवक्तासमेत बनेका थिए ।
