प्रतिनिधिसभा निर्वाचन : चितवन–१ मा एमालेबाट ६ जना सिफारिस

यसअघिको निर्वाचनमा पराजित भएका पूर्व अर्थमन्त्री एवं एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेको नाम भने क्षेत्रीय समितिले सिफारिस गरेको छैन ।

पुस २०, २०८२

राजु चौधरी

House of Representatives election: UML recommends 6 candidates in Chitwan-1

What you should know

चितवन — नेकपा (एमाले) चितवन क्षेत्र नं.१ ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समितिको बैठकले बागमती प्रदेशका पूर्व कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामासहित जिल्ला अध्यक्ष कमलराज पाठक, प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोखरेल, डा. किशोर खनाल, भरत भण्डारी र कृष्णलाल चौधरीको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको क्षेत्रीय संयोजक प्रेमनाथ दुवाडीले जानकारी दिए । 

यसअघिको निर्वाचनमा पराजित भएका पूर्व अर्थमन्त्री एवं एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेको नाम भने क्षेत्रीय समितिले सिफारिस गरेको छैन । क्षेत्रीय संयोजक दुवाडीका अनुसार नेता पाण्डेले उम्मेदवारीका लागि निवेदन नदिएकाले जिल्ला कमिटीमा नाम नपठाइएको हो । 

नेता पाण्डेले भने आफ्नो नाम सिफारिस नभएको बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले कान्तिपुरसित टेलिफोनमा भने, ‘म अहिले नेपालगञ्जमा छु, नाम सिफारिस नभएको बारे मलाई कुनै जानकारी भएन, निवेदन दिनुपर्छ भनेर पनि कसैले भनेनन् ।’ 

क्षेत्र नं. १ ले नाम सिफारिस गरे पनि क्षेत्र नं. २ र ३ ले भने पुस २२ गते नाम सिफारिस गर्ने एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए । त्यसलगत्तै बस्ने जिल्ला कमिटीको बैठकले अन्तिम नाम प्रदेश कमिटीलाई सिफारिस गर्ने सचिव ढुंगानाले बताए । 

सचिव ढुंगानाले दुई पटक चितवन क्षेत्र नं. १ बाट निर्वाचित भएका नेता पाण्डेको नाम क्षेत्रीय समितिले सिफारिस नगरेको विषयमा जिल्ला कमिटीले थप निर्णय गर्ने बताए । नेता पाण्डेले इच्छा प्रकट गरे जिल्ला कमिटीले नाम थप गरेर प्रदेश कमिटीलाई पठाउन सकिने सचिव ढुंगानाले बताए । ‘हामीले सम्पर्क गर्दा उहाँ नेपालगञ्ज हुनुहुँदो रहेछ, उहाँसँग बसेर छलफल गर्छौं, राय बुझ्छौं,’ सचिव ढुंगानाले भने, ‘उहाँले इच्छा जाहेर गर्नुभयो भने उहाँको नाम थपेर पठाउन कुनै आपत्ति छैन ।’ 

नेता पाण्डे पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए भने २०७० र २०७४ को निर्वाचनमा चितवन क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए । उनी गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकालसँग पराजित भएका थिए । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully