कार्यक्रमका प्रमुख अतिथि डा. भगवान कोइरलाले पछिल्लो तीन दशकमा नेपालमा मुटुरोगको उपचार क्षेत्रमा राम्रो उपलब्धि हुँदै गएको र काठमाडौंबाहिर पनि सेवा र उपचारमा गुणस्तर बढ्दै गएको बताए ।
चितवन — मुटुरोग उपचार क्षेत्रका विविध विषयमा छलफल र अनुभव आदनप्रदान गर्न चितवन मेडिकल कलेज (सीएमसी) ले भरतपुरमा पहिलो कार्डियोलोजी कन्फ्रेन्स आयोजना गरेको छ । कार्यक्रममा मुटुरोग उपचार क्षेत्रका विभिन्न पाटाबारे छलफल गर्न चारवटा सेसन सम्पन्न हुँदैछन् ।
मुटुरोग उपचार क्षेत्रमा विशिष्ट पहिचान बनाएका चिकित्सक डा.भगवान कोइरालाले शनिबार कार्यशाला उद्घाटन गरेका हुन् ।
सीएमसी शिक्षण अस्पतालका मुटुरोग विभाग प्रमुख प्रा.डा.श्यामराज रेग्मीले मुटुरोग उपचारमा विश्वमा निकै द्रूत रूपमा प्रविधि र उपचार विधि आउने भएका कारण चिकित्सकहरू यी विषयमा जानकार रहनुपर्ने भएकाले कार्यशाला आयोजना भएको बताए । मुटु उपचार क्षेत्रका पाँच विधाका बारेमा सेसनहरूमा चर्चा हुने उनले बताए । काठमाडौं, चितवन र यस आसपासका अस्पतालमा कार्यरत मुटुरोग उपचार क्षेत्रका चिकित्सक, नर्स, मेडिकल स्टुडेन्ट र प्राविधिकहरू गरी ३ सय ५० जना यसमा सहभागी भएको उनले जनाए ।
कार्यक्रमका प्रमुख अतिथि डा.कोइरलाले पछिल्लो तीन दशकमा नेपालमा मुटुरोगको उपचार क्षेत्रमा राम्रो उपलब्धि हुँदै गएको र काठमाडौंबाहिर पनि सेवा र उपचारमा गुणस्तर बढ्दै गएको बताए । कार्यक्रमका सभापति सीएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले सीएससी शिक्षण अस्पतालले आफ्नो प्रयास र अरूको अभ्यास सुन्न सुनाउन यस्ता कार्यक्रम गर्दै आएको बताए । अनुभव आदन प्रदानले उपचार सेवा र शिक्षण विधिलाई सुधार गर्न मद्दत गर्ने उनले बताए ।
