पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार बढी चल्ला जले

खोरमा रहेकामध्ये ९ सय चल्ला उद्धार गरिएको छ भने १५ हजार २८२ चल्ला जलेर मरेका छन्।

पुस १९, २०८२

प्रताप विष्ट

More than 15,000 chicks burned in fire at poultry farm

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी हुँदा १५ हजार भन्दाबढी कुखराका चल्ला जलेका छन्।

हेटौंडा–८ कमानेका राजु अधिकारीले सञ्चालन गरेको पशुपति पोल्ट्री फर्ममा चल्ला ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक भएर भूइमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

आगलागी हुँदा सोही खोरमा ३ दिनका १६ हजार १८२ वटा चल्ला रहेका थिए । खोरमा रहेकामध्ये ९ सय चल्ला उद्धार गरिएको छ । बाँकी १५ हजार २८२ चल्ला जलेर मरेका थिए ।

स्थानीय तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय तथा अन्य भौतिक संरचनामा भने क्षति नभएको जनाइएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully