अरनिको राजमार्गको बन्देउ–बलेफी खण्डमा स्वास्थ्य संस्था नहुँदा सडक दुर्घटनाका घाइते तथा पर्यटकहरू उपचारका लागि टाढा जान बाध्य हुँदै आएका छन्।
सिन्धुपाल्चोक — एडभेन्चर र्याफ्टिङका लागि चर्चित भोटेकोसी र सुनकोसी नदी क्षेत्रको केन्द्र सुकुटेमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरिएको छ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटेमा शुक्रबार पूर्वसांसद माधव सापकोटा, नगरप्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सेवा केन्द्रको भवन उदघाट्न गरेका हुन्।
उद्घाटनको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा आँखाको जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा ज्येष्ठ नागरिक लक्षित फिजियोथेरापी सेवा प्रदान गरिएको थियो। शिविरबाट स्थानीयसँगै पर्यटक र अरनिको राजमार्ग प्रयोगकर्ताले पनि सेवा लिएका थिए।
नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार स्वास्थ्य सेवा केन्द्रमा एक जना अहेब र एक जना अनमिको दरबन्दी स्वीकृत भइसकेको छ। 'यसले सुकुटे र आसपासका बस्तीमा नियमित प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनेछ,' उनले भने ।
अरनिको राजमार्गको बन्देउ–बलेफी खण्डमा स्वास्थ्य संस्था नहुँदा सडक दुर्घटनाका घाइते तथा पर्यटकहरू उपचारका लागि टाढा जान बाध्य हुँदै आएका छन्।
नगरप्रमुख सापकोटाका अनुसार सुकुटे पर्यटकीय गन्तव्य मात्र नभई दुर्घटनाको जोखिमयुक्त क्षेत्रसमेत भएकाले आगामी दिनमा आकस्मिक उपचार र दुर्घटना व्यवस्थापनमा केन्द्रीत अस्पताल विकास गर्ने लक्ष्य नगरपालिकाको छ।
नगरपालिकाले स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। पर्यटन र राजमार्ग आवागमनको केन्द्र बन्दै गएको सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीयसँगै पर्यटकले पनि तत्काल स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
