भीमफेदी कारागारबाट भागेका २६ भारतीयसहित १४० कैदीबन्दी अझै फरार

भीमफेदी कारागारबाट भागेका ४ सय ४० जना कैदीबन्दीमध्ये प्रहरी, सेना र सशस्त्र प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट ३ सय जनालाई पक्राउ गरेको छ।

पुस १९, २०८२

प्रताप विष्ट

140 prisoners, including 26 Indians who escaped from Bhimphedi Prison, are still at large

What you should know

हेटौंडा — गत भदौ २४ मा जेन—जी प्रदर्शनका क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये १ सय ४० जना कैदीबन्दी अझै फरार छन्। उनीहरुमध्ये २६ जना भारतीय नागरिक छन्।

भीमफेदी कारागारबाट भागेका ४ सय ४० जना कैदीबन्दीमध्ये प्रहरी, सेना र सशस्त्र प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट ३ सय जनालाई पक्राउ गरेको छ।  

जेनजी प्रदर्शनका बेला कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आए पनि २६ जना फरार नै रहेको भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताए।  

गत भदौ २४ गते राति साढे १२ बजेतिर कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर क ब्लकबाट २ सय ६० र ख ब्लकबाट १ सय ८० गरी ४ सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई ३ सय जनालाई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। 

फरार रहेका १ सय ४० कैदीबन्दीको खोजी जारी रहेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए । भीमफेदी कारागारबाट अहिलेसम्म फरार भएका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध र जबरजस्तीकरणी मुद्दाका छन्। 

मकवानपुर प्रहरीका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत कारागारबाट भागेहरुलाई मकवानपुरको विभिन्न स्थानबाट ७४ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई पनि भीमफेदी कारागारमै राखिएको छ । अहिले भीमफेदी कारगारमा ३४ महिलासहित ९ सय ७६ जना कैदीबन्दी छन्। तीमध्ये ४४ जना विदेशी नागरिक छन्। भदौ २४ अघि यहाँ १ हजार ६६ जना कैदीबन्दी थिए । 

सुधार गृहका ७ बालक पनि अझै फरार 
हेटौंडा उपमहानगरपालिका—११ थानाभर्‍याङमा रहेको बालसुधार गृहबाट भदौ २५ गते बिहान ७२ जना बालक भागेका थिए । तीमध्ये प्रहरीले ६५ जना नियन्त्रणमा लिएको छ भने ७ जना अझै फरार रहेको सुधारगृह प्रमुख प्रदीप गौतमले बताए । ‘फरार रहेका बालबालिका घरमा पनि पुगेका छैनन्, हालसम्म कसैको सम्पर्कमा छैनन्,’ उनले भने ।

फरार रहेकाहरु लागुऔषध र जबरजस्तीकरणी मुद्दाका छन् ।  सुधार गृहमा ९४ जना बालबिज्याई गरेकाहरु रहेका थिए । अहिले बालसुधार गृहमा ८४ जना बालक छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully