दुर्गमको विद्यालयमा सिद्धार्थ बैंकद्वारा पोसाक वितरण

सिद्धार्थ बैंक सिन्धुली शाखाले सदरमुकामबाट २१ कोष पूर्वमा रहेको उक्त विद्यालयका बालबालिकालाई ट्याकसुट, जुत्ता, झोलालगायतका सामग्री वितरण गरेको हो।

पुस १८, २०८२

राजकुमार कार्की

Siddhartha Bank distributes uniforms to remote schools

सिन्धुली — सिन्धुलीको दुर्गम फिक्कल गाउँपालिका–६ रत्नावती सोखुखोलाको जनजागृति आधारभूत विद्यालयका ४७ जना बालबालिकालाई विद्यालय पोसाक तथा न्यानो कपडा वितरण गरिएको छ ।

सिद्धार्थ बैंक सिन्धुली शाखाले सदरमुकामबाट २१ कोष पूर्वमा रहेको उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई जाडोमा पनि लगाउन मिल्नेगरी ट्याकसुट, जुत्ता, झोलालगायतका सामग्री वितरण गरेको हो। 

विद्यालय पोशाक तथा न्यानो कपडाको अभावमा बालबालिकाहरु कक्षामा अनुपस्थित हुन थालेपछि सिद्धार्थ बैंकलाई अनुरोध गरिएको प्रधानाध्यापक लोकेन्द्रबहादुर मगरले बताए। 

बैंकको सामाजिक कार्य तथा पोसाक अभावमा शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर दुर्गमको विद्यालयमा वितरण गरिएको बैंकका मधेश उपप्रदेश प्रमुख सूर्यप्रसाद शर्मा उपाध्यायले बताए।

बैंकले १ लाख ३० हजार खर्चेर पोशाक तथा अन्य सामग्री वितरण गरिएको शाखा प्रमुख कुमार कार्कीले जानकारी दिए। यो विद्यालयमा अति विपन्न, जनजाति, दलित, सिमान्तकृत लगायत समुदायका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully