त्रिपुरासुन्दरीमा चिस्यान केन्द्र स‌ंचालनमा

कृषि उपज संकलन, प्रशोधन, भण्डारण तथा चिस्यान व्यवस्थापन सहज बनाउने उद्देश्यले निर्माण गरिएको केन्द्र संचालनमा ल्याइएको हो।

पुस १८, २०८२

अनिश तिवारी

Humidity center operational in Tripura Sundari

What you should know

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिकामा कृषि उपज संकलन, प्रशोधन, चिस्यान तथा बिक्री केन्द्र संञ्चालनमा आएको छ।

कृषि उपज संकलन, प्रशोधन, भण्डारण तथा चिस्यान व्यवस्थापन सहज बनाउने उद्देश्यले निर्माण गरिएको केन्द्र संचालनमा ल्याइएको हो। 

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लष्टर इकाई, सिन्धुपाल्चोक र त्रिपुरासुन्दरी गाउँपालिकाको ३६ लाख ९१ हजार रुपैयाँ लागतमा केन्द्र संचालनमा आएको हो। त्रिपुरासुन्दरी उद्योग विकास शाखाका प्रमुख ओम तामाङका अनुसार ड्यामसाइड कृषक समूहद्वारा केन्द्रको भवन निर्माण गरिएको हो।

बिहीबार गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले केन्द्रको उद्घाटन गरे। चिस्यान केन्द्र निर्माणमा गाउँपालिकाबाट १३ लाख र आयोजनाबाट १४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । साथै, करिब ६ लाख रुपैयाँ बराबरको अत्याधुनिक कुलिङ चेम्बर मेसिन जडान गरिएको छ । भवन निर्माणका लागि स्थानीयले ३ लाख ९१ रुपैयाँ बराबरको श्रमदान गरेका थिए।

कृषकको उत्पादन नगदमै खरिद गरेर बजारसम्म पुर्‍याउने उद्देश्यले गाउँपालिकामा कृषि एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ । बलेफी गाउँपालिका–७ खाडीचौर बजारमा कृषि उपज बिक्री कक्ष सञ्चालन गर्दै आएको त्रिपुरासुन्दरी कृषक समूह संघले पालिकासित समन्वय गर्दै किसानको उत्पादन खेर जान नदिन एम्बुलेन्स सेवा सुरु गर्दै आएको छ।

पालिकाभर उत्पादित तरकारी, माछा, मह, मासु, दही, छुर्पीलगायतका कृषि तथा पशुजन्य उत्पादन एम्बुलेन्समार्फत संकलन गरी बिक्री कक्षसम्म पुर्‍याइँदै आएको छ। दैनिक ३० देखि ५० भन्दा बढी किसानको उत्पादन बिक्री कक्षमा पुग्ने गरेको छ। 

चिस्यान केन्द्र संचालनमा आएपछि स्थानीय कृषकलाई उत्पादन संकलन, भण्डारण, प्रशोधन र बजार व्यवस्थापन एकै स्थानबाट गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले कृषि उपजको क्षति न्यूनीकरण गर्नुका साथै मूल्य अभिवृद्धि र कृषकको आम्दानी वृद्धि गर्न टेवा पुग्ने विश्वास लिइएको छ। 

आयोजनाका प्रतिनिधिहरूका अनुसार केन्द्रले स्थानीय कृषि प्रणालीलाई व्यवस्थित बनाउँदै खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्‍याउनेछ।

दोलखा, रामेछाप तथा तातोपानीतर्फ जाने मार्गको गन्तव्य बाह्रबिसे–लामोसाँघु बजारस्थित बिक्री कक्ष र चिस्यान केन्द्रबाट नजिकका स्थानीय तहका किसान पनि लाभान्वित भएका छन् । ‘चाँडै बिग्रने कृषि उपज तथा उत्पादन लामो समयसम्म सुरक्षित राख्दा उचित मूल्य पाउने आसा जागेको छ, यो हाम्रो वर्षौदेखिको सपना थियो,’ त्रिपुरासुन्दरी–६ की ईश्वरीमाया श्रेष्ठले भनिन्। 

विदेश पलायन भएका युवालाई लक्षित गर्दै पालिकाले कृषि बचाउ, युवा फर्काउ अभियानसमेत सञ्चालनमा ल्याएर बाँझो जमिनमा खेती विस्तार र बजारीकरणका लागि नीति तथा कार्यविधि तयार गरी कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष बोहराले बताए ।  

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully