मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चियाबगानसहित हिमाल अवलोकन गर्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको बताए।
सिन्धुपाल्चोक — समुद्री सतहदेखि २ हजार २ हजार दुई सय ५० मिटर उचाइमा रहेको मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा बिहीबार छैठौँ गुफाडाँडा जलवायु दिवस मनाइएको छ।
बिहीबार मेलम्ची नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधि, जलवायु विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपत्तिबारे छलफल गरिएको थियो। वक्ताहरूले जलवायु संरक्षणका लागि साझा सोच र दीर्घकालीन कार्यक्रम आवश्यक भइसकेको उल्लेख गरे।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडालाई चियाबगानसहित हिमाल अवलोकन गर्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको बताए। मुख्यमन्त्री बानियाँलाई जलवायु परिवर्तन सम्बन्धी ६ बुँदे अवधारणा पत्र पनि बुझाइएको उनले बताए।
उनले २०७५ सालमा तत्कालीन जिल्ला समन्वय समितिले जारी गरेको ‘१० बुँदे घोषणापत्र’बाट जलवायु दिवस मनाउने सुरुवात भएको स्मरण गर्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले जलवायु परिवर्तन विश्वव्यापी चुनौती बनेको उल्लेख गर्दै यसप्रति गम्भीर हुनुपर्ने बताए। साथै, मेलम्ची–गुफाडाँडा–पाँचपोखरी सडक निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए।
स्थानीयको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य र झाँकीले वातावरणीय सन्देशसँगै कार्यक्रमलाई आकर्षक बनाएको थियो।
