गाँजा व्यापारीसहित नौ जना पक्राउ

पक्राउ परेका भरियाहरुले गाँजा व्यापारीको नाम र ठेगाना बताए पछि प्रहरी रातारात गएर दुई जना गाँजा व्यापारीलाई पक्राउ गरेको हो।

पुस १७, २०८२

प्रताप विष्ट

Nine people arrested, including a marijuana dealer

What you should know

हेटौंडा — मकवानपुर प्रहरीले भरियासँगै गाँजा व्यापारी पनि पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मकवानपुरले बुधबार साढे ५३ केजी गाँजासहित ७ जना भरिया पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले गाँजा व्यापारीको नाम र ठेगाना बताए पछि प्रहरी रातारात गएर दुई जना गाँजा व्यापारीलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा सर्लाही कविलासी नगरपालिका—८ अगरवाको भित्री सडकमा बसिरहेको अवस्थामा सोही ठाउँका सुरजनारायण राय र सुधिरलाल महतो रहेका छन् । गाँजासहित पक्राउ परेका होमबहादुर अधिकारीको बयानका आधारमा राय र महतो पक्राउ परेको प्रहरीले जनाएको छ । 

बुधबार पक्राउ परेका सातै जना गाँजा बोक्ने भरिया मात्र थिए। सर्लाहीस्थित कविलासमा पुर्‍याएपछि प्रतिकेजी १ हजार ५ सय रुपैयाँ ज्याला पाउने प्रलोभनमा उनीहरुले गाँजा बोकेर ल्याएको बताएका छन् । प्लाष्ट्रिकले बेरेको गाँजा झोलामा राखेर लोथर नजिकबाट उनीहरु बसमा चढेका थिए। प्रहरीले बस रोकेर जाँच गर्ने क्रममा ५३ केजी ५७० ग्राम गाँजासहित ७ जनालाई पक्राउ गरेको थियो।

उनीहरुले बोकेको झोलामा पनि एक/एक वटा रातो प्लाष्ट्रिकले बेरेको गाँजाको प्याकेट थियो । 
पक्राउ परेका मध्ये चार जना एकै परिवारका छन् । पक्राउ पर्नेमा तीन युवतीसहित ६ जना चेपाङ समुदायका छन्। 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१—००६ ख ७७०१ नम्बरको बसलाई ईलाका मनहरी कार्यालयको टोलीले रोकेर चाँच गर्ने क्रममा उनीहरुको साथबाट गाँजा बरामद गरिएको थियो । गाँजा व्यापारीको आरोपमा पक्राउ परेका राय र महतोले परिवार पालनपोषण गर्नका लागि गाँजाको कारोबार गरेको प्रहरीमा बयान दिएका छन्।

पक्राउ परेका सातै जनाले यसअघि पनि राय र महतो समक्ष गाँजा बोकेर पुर्‍याएको बताएका छन्। पक्राउ परेका सबै जनालाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully