माघ ११ मा देशभर राष्ट्रिय सभाका १८ जनाको निर्वाचनमा बागमती प्रदेशबाट एक महिला र एक अन्य सदस्यका लागि मतदान हुने छ।
What you should know
हेटौंडा — आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
हेटौंडा उपमहानगरपालिका—५ प्रदेश निर्वाचन कार्यालय मकवानपुरको भवनमा राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
मकवानपुर जिल्ला न्यायाधीश एवं राष्ट्रिय सभा निर्वाचन अधिकृत गीता श्रेष्ठले कार्यालय उद्घाटन गर्दै निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताइन्। माघ ११ मा देशभर १८ पदका लागि राष्ट्रिय सभा निर्वाचन भइरहेको हो। बागमती प्रदेशबाट एक महिलासहित दुई सिटमा निर्वाचन हुँदै छ।
राष्ट्रिय सभा सदस्य रहेका महिला तर्फ तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका बेदुराम भुसालको फागुन २० पदावधि सकिँदै छ। एक महिलासहित अन्य एक गरेर दुई जना रिक्त हुने सदस्यका लागि यहाँबाट मतदान हुने छ।
निर्वाचन आयोगको तालिका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। बागमतीका लागि हेटौंडा उपमहानगरपालिका—४ भुटनदेवी माविमा मतदान स्थल तोकेको छ। यो मदानस्थलमा २ वटा मतदान केन्द्र रहने निर्वाचन अधिकृत श्रेष्ठले बताइन्। बुधबार नै निर्वाचन अधिकृत श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरुले मतदान स्थल अनुगमन गरेका थिए ।
यो निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरु मतदाता हुन्छन्। बागमतीमा मतदाताको संख्या ३ सय ४८ जना रहने छन् । ११० जना प्रदेशसभाका सदस्य र २३८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख रहने छन् । प्रदेशसभा सदस्यको एक जनाको ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार हुन्छ।
बागमती प्रदेशमा कुल मतभार १० हजार ३५२ रहेकामा कांग्रेसको ४ हजारभन्दा बढी मतभार छ। प्रदेशसभामा कांग्रेसका ३७ सिट छन् भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०८ सिट छन्। यस्तै, एमालेको प्रदेशसभामा २७ सिट र स्थानीय तहमा ६० सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेशसभामा २१ र स्थानीय तहमा ५७ सिट छ।
राप्रपाको प्रदेशसभामा १३ र स्थानीय तहमा १ सिट, एकीकृत समाजवादीको प्रदेशसभामा ७ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेशसभामा ३ र स्थानीय तहमा २ सिट, तथा हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ सिट र स्थानीय तहमा १ सिट रहेका छन्।
बागमतीमाा कांग्रेसपछि दोस्रो शक्तिका रूपमा वर्तमान नेपाली कम्युनिष्ट पार्टी (साविक माओवादी केन्द्र र एकीकृत समाजवादी)देखिएको छ। प्रदेशसभामा नेकपाका २८ सिट र स्थानीय तहमा ६६ सिट हुँदा कुल मतभार २ हजार ७३८ पुग्छ। यस्तै, एमालेको मतभार २ हजार ५७१, राप्रपाको ७०८, नेमकिपाको १९७ र हाम्रो नेपाली पार्टीको १०६ रहेको छ।
