डलर साट्ने भन्दै ठगी गर्ने ४ जना पक्राउ

पक्राउ परेकाहरूको साथबाट ९ लाख ५५ हजार नगद, दुई थान मोटरसाइकल, ६ थान मोबाइल फोन र दुई थान चेकबुक बरामद गरिएको छ।

पुस १७, २०८२

अनिश तिवारी

4 people arrested for cheating by pretending to exchange dollars

सिन्धुपाल्चोक — डलर सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ मुडेबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ९ लाख ५५ हजार नगद , दुई थान मोटरसाइकल, ६ थान मोबाइल फोन र दुई थान चेकबुक बरामद गरिएको छ।

'प्रारम्भिक अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा फोन र सामाजिक सञ्जालमार्फत डलरका फोटो तथा भिडियो पठाई विश्वास दिलाउने र नेपाली रुपैयाँ लिएर ठगी गर्ने गरेको खुलेको छ,' जिल्ला प्रहरीका डीएसपी माधवराज खरेलले भने ।

महिलालाई प्रयोग गरी पीडितलाई नजिकिने शैली अपनाइएको पनि अनुसन्धानमा देखिएको छ।
हाल पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully