दुईवटा पुराना र एक नवगठित पार्टीले चितवनका दुईजना र मकवानपुरका एकजनालाई बन्द सूचीमा राखेको हो ।
चितवन — अति सीमान्तकृत वर्ग अर्थात संख्यात्मक हिसाबले पनि कम र राज्यले दिनुपर्ने सुविधा र अवसरहरुमा पछाडी पारिएका नेपालको आदिवासी समुदाय चेपाङबाट तीनजना प्रतिनिधि सभा सदस्यको आउँदो निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा परेका छन् ।
दुईवटा पुराना र एक नवगठित पार्टीले चितवनका दुईजना र मकवानपुरका एकजनालाई बन्द सूचीमा राखेको हो ।
संविधान सभा सदस्य पनि रहेका नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बन्दसूची अध्ययन गर्दा नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र गतिशिल लोकतान्त्रिक पार्टी (गलोपा)ले एक/एकजनालाई बन्दसूचीमा राखेको पाइएको बताए । उनका अनुसार एमालेले चितवन शक्तिखोरका सन्तबहादुर चेपाङ र कोराकका विश्वास चेपाङलाई बन्दसूचीमा राखेको छ ।
त्यसै गरी नेकपाले मकवानपुर मनहरीका मंगलसिंह चेपाङलाई बन्दसूचीमा राखेको पनि अध्यक्ष गोविन्दराम चेपाङले बताए ।
चेपाङहरु मुख्यरुपमा चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाको पहाडी भेगमा बसोबास गर्दछन् । २०७८ सालको जनगणना अनुसार देशभर चेपाङको जनसंख्या ८४ हजार ३६४ छ । सवैभन्दा धेरै चितवनमा ३५ हजार ६३७ चेपाङ बसोबास गर्दछन् ।
