जाडोबाट जोगाउन विशेष गरी वृद्धवृद्धालाई लक्षित गरेर दाउरा वितरण गरिएको डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलले बताए ।
हेटौंडा — हेटौंडामा जाडो बढेसँगै डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न वृद्धाश्रम र मन्दिरलाई दाउरा वितरण गरेको छ । चिसोका कारण वृद्धवृद्धा र सर्वसाधारणलाई परेको समस्यालाई मध्यनजर गर्दै कार्यालयले मंगलबार दाउरा वितरण गरेको हो ।
चिसो मौसममा आगो तापेर राहत मिलोस् भन्ने उद्देश्यले वन कार्यालयले दाउरा वितरण गरेको हो । वन कार्यालयका अनुसार हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रम, हेटौंडा–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौंडा–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौंडा–१०, राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ ।
जाडोबाट जोगाउन विशेष गरी वृद्धवृद्धालाई लक्षित गरेर दाउरा वितरण गरिएको डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलले बताए । ‘कार्यालयले विभिन्न सामुदायिक वनहरूसँग सहयोग मागेर दाउरा वितरण गरेको हो,’ उनले भने ।
चिसोबाट प्रभावित अशक्त तथा विपन्न वर्गले दाउराको माग गरेमा कार्यालयले आफैं यातायातको व्यवस्था गरी दाउरा उपलब्ध गराउने छ । स्थानीयको आवश्यकता र माग अनुसार दाउरा बाँडिएको पौडेलले बताए ।
