चितवन प्रशासन विभिन्न संघसंस्थाको सहकार्यमा प्रशासनले विपन्न परिवारलाई ‘न्यानो कपडा’ बाड्न थालेको हो ।
What you should know
चितवन — केही दिनयता अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न परिवारलाई ‘न्यानो कपडा’ बाँड्न थालेको छ ।
विभिन्न संघसंस्थाको सहकार्यमा प्रशासनले विपन्न परिवारलाई ‘न्यानो कपडा’ बाड्न थालेको हो ।
मंगलबार राप्ती नगरपालिका–३ का ४० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
अन्य ठाउँका विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडासँगै दाउरा पनि वितरण गरिने चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले बताए । ‘चार दिनदेखि जिल्लामा अत्यधिक चिसो छ, चिसोकै कारण कसैलाई समस्या नपरोस् भनेर हामी समन्वय गरेर सहयोग गरिरहेका छौं,’ प्रजिअ अर्यालले भने ।
राप्ती नगरपालिकामा जनप्रतिनिधि बीच लामो समयदेखिको आन्तरिक विवादका कारण स्थानीय सरकारबाट सहयोग हुन सकेको छैन। त्यही अवस्थालाई ध्यान दिँदै प्रशासनले ती क्षेत्रका विपन्नका लागि सहयोग अभियान थालेको हो ।
भरतपुरका दुई सामाजिक संस्था लायन्य क्लब अफ आरोग्य र भरतपुर युथको सहकार्यमा प्रशासन न्यानो कपडा बाँडेको हो । प्रशासनले आफ्नै बजेटबाट समेत न्यानो कपडा वितरण गर्न थालनी गरेको छ । ‘गृह मन्त्रालयबाट चिसोबाट जोगाउन सबै प्रयास गर्नु भन्ने परिपत्र आएको छ, हामी आफ्नै तर्फबाटसहित अन्य सहयोगी संस्थाको सहकार्यमा समेत न्यानो कपडा बाँड्ने काम गरिरहेका छौं,’ प्रजिअ अर्यालले भने ।
न्यानो कपडा वितरण गर्न प्रजिअ अर्यालसहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटा, राप्ती–३ का वडाध्यक्ष शिवकान्त ओलीलगायतका जनप्रतिनिधि थिए ।
चितवनमा शनिबारदेखि दैनिक सरदर न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । मंगलबार चितवनको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन घाम नलाग्ने जनाएपछि चितवन प्रशासनले चिसोबाट जोगाउन अग्रसरता लिएको हो। चिसोबाट जोगाउन स्थानीय तहहरुले भने ठोस कार्यक्रम ल्याएका छैनन्। भरतपुरसहित केही पालिकाले बुधबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
