विद्यालय पोसाकसँगै २ सय थान टोपी पूर्वविद्यार्थी सुवास खड्काले सहयोग गरेको वडा कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोक — जिल्लाको दुर्गम भेग बाह्रबिसे नगरपालिका–२ कर्थलीभरका बालबालिकालाई चिसोबाट जोगाउने उद्देश्यले न्याना विद्यालय पोसाक वितरण गरिएको छ।
वडा कार्यालयको सहयोगमा सोमबार कर्थलीभर क्षेत्रका ७ वटा विद्यालयमा अध्ययनरत ५ सय २३ बालबालिकालाई ट्र्याकसुट वितरण गरिएको वडाध्यक्ष रेशमबहादुर तामाङले जानकारी दिए। उनका अनुसार चिसो मौसमका कारण बालबालिकालाई विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले वडाबाट ८ लाख रुपैयाँ बजेट छुट्याएर पोसाक उपलब्ध गराइएको हो।
'चिसोले कठ्याग्रिएका बालबालिकालाई न्याना लुगा दिन सकेपछि उनीहरू उत्साहित भएका छन्,' वडाध्यक्ष तामाङले भने।
पोसाक वितरण कार्यक्रम सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो। कार्यक्रममा बाह्रबिसे नगरपालिकाकी उपप्रमुख मञ्जु तामाङ, वडाध्यक्ष रेशमबहादुर तामाङलगायत जनप्रतिनिधिको सहभागिता थियो।
विद्यालय पोसाकसँगै २ सय थान टोपी पूर्वविद्यार्थी सुवास खड्काले सहयोग गरेको वडा कार्यालयले जनाएको छ। स्थानीय तह र समुदायको सहकार्यमा गरिएको यस पहलले दुर्गम क्षेत्रका बालबालिकालाई राहत पुगेको स्थानीयवासीको भनाइ छ।
