हेटौंडामा सडक खाना महोत्सव

महोत्सवमा सांस्कृतिकदेखि आधुनिक र परम्परागत खानाका परिकार बिक्री भइरहेकाे होटल एसोशियसन मकवानपुरका अध्यक्ष दिनेश गोविन्द श्रेष्ठले बताए।

पुस १४, २०८२

प्रताप विष्ट

Street food festival in Hetauda

हेटौंडा — हेटौंडामा १२ औं सडक खाना महोत्सव आइतबारदेखि जारी छ। मकवानपुर होटल एसोशिएसनले हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरस्थित सडकमा सडक खाना महोत्सव आयोजना गरेको हो।

‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ होटल एसोशिएसन मकवानपुरले  आयोजना गरेको सडक खाना महोत्सवको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आइतबार अपरान्ह उद्घाटन गरेकी थिइन् । 

विगत ११ वर्षदेखि होटल एसोशियसनले निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ। महोत्सव पुस १६ गतेसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म संचालन हुने आयोजक जनाएको छ ।

महोत्सवमा सांस्कृतिकदेखि आधुनिक र परम्परागत खानाका परिकार बिक्री भइरहेकाे होटल एसोशियसन मकवानपुरका अध्यक्ष दिनेश गोविन्द श्रेष्ठले बताए। महोत्सवमा करिब ६० वटा स्टल रहेका छन्। एउटा स्टल राख्न ४ दिनको १० हजार रुपैयाँ शुल्क लिइएको छ।

खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिने र व्यवसायीलाई दैनिक फोहोर व्यवस्थापन गर्न लगाइने आयोजकले जनाएको छ । प्रत्येक स्टलमा खानाको मेनु राखिएको छ। 

महोत्सव व्यवस्थापनमा १५ लाख ७२ हजार रुपैयाँ खर्च र स्टलबाट ७० देखि ८० लाखसम्म व्यापार हुने आयोजकको अनुमान छ । महोत्सवमा ३० देखि ४० हजार अवलोकनकर्ता आउने आयोजकको आँकलन छ। 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully