रत्ननगर महोत्सव पुस २५ देखि

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय र बहुराष्ट्रिय उत्पादनसँग सम्बन्धित ४५० स्टल रहने छन् ।

पुस १४, २०८२

रमेशकुमार पौडेल

Ratnanagar Festival from 25th of December

चितवन — १३ औं रत्ननगर महोत्सव पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग आडैको टिकौली चौरमा हुने महोत्सवको आयोजना रत्ननगर उद्योग वाणिज्य संघले गरेको हो । 

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय र बहुराष्ट्रिय उत्पादनसँग सम्बन्धित ४५० स्टल रहने आयोजकले जानकारी दिएको छ ।

सोमबार सौराहामा सम्पन्न पत्रकार सम्मेलनमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक शंकर गिरीले चार लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताए । जेनजी आन्दोलनका कारण शिथिल देखिएको अर्थतन्त्र यसबाट चलायमान हुने उनले बताए ।  

‘बिर्सनु हुन्न बाजेबज्यैको पालाको स्वाद, जोगाऔं रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नाराका साथ रैथाने बालीको संरक्षण र प्रवर्द्धन पनि महोत्सवमा गरिने उनले बताए । 

पुस २९ देखि माघ ४ गतेसम्म पाँच दिन यहाँ खाना महोत्सव पनि हुने छ । सौराहा चोक बसपार्कमा हुने खाना महोत्सवमा चितवनका जातजातिका भान्सामा पाक्नै रैथाने परिकार पनि पस्कने अध्यक्ष गिरीले बताए ।

महोत्सव अवधिमा रोजगार मेलामा पनि हुने छ । महोत्सव परिसरमै हुने कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, डेरी उत्पादन, पोल्ट्री उत्पादन, रैथाने बाली र महका स्टल रहने उनले बताए । रत्ननगर महोत्सव दुई वर्षको अन्तरालमा हुँदै आएको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully