आइतबार मात्र ४०५ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
What you should know
हेटौंडा — बाराको निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा आँखा अस्पतालमा तीन दिनको अवधिमा १ हजार ५५ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
आइतबार मात्र ४०५ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार बिहानदेखि सुरु भएको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियामा ११ वर्षदेखि ७९ वर्षसम्मका बिरामी समेटिएका हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए। सोमबारसम्म कुल १ हजार २ सय ५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य रहेको उनले बताए।
आँखा अस्पतालका चिकित्सक टोलीले बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गरी मोतियाबिन्दुका बिरामी पहिचान गरेका थिए।
चार जिल्लामा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमा ६ हजार ५ सय जनाको आँखा परीक्षण गरिएकोमा १ हजार ५ सय जनामा मोतियाबिन्दु भेटिएको व्यवस्थापक श्रेष्ठले बताए। ‘पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई शुक्रबारदेखि पालैपालो गरेर निजगढस्थित तिलगंगा आँखा अस्पतालमा ल्याई शल्यक्रिया गरिएको हो,’ उनले भने।
मोतियाबिन्दु भएका बिरामीलाई शल्यक्रियाका लागि ल्याउन अस्पतालले यातायातको व्यवस्था मिलाएको छ। शल्यक्रिया गराउने बिरामी र उनीहरूका कुरुवाका लागि खाने–बस्ने सम्पूर्ण व्यवस्था अस्पतालले नै गरेको छ। आँखाको पट्टी खोलेपछि बिरामीलाई घरसम्म पुर्याउने व्यवस्था पनि गरिएको अस्पतालले जनाएको छ।
अप्ररेशन रिजोइस सिङ्गापुरको सहयोग, तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।
नेत्र विशेषज्ञ डा. रीता गुरुङको नेतृत्वमा मोतियाबिन्दुको शल्यक्रिया भइरहेको छ। २०८१ कात्तिकमा स्थापना गरिएको निजगढ तिलगंगा आँखा अस्पतालले हाल नियमित आँखा परीक्षण, शल्यक्रिया सेवा, चश्मा तथा औषधि वितरणका साथै सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
एकै पटक १ हजार ५ सय जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्यसहित शिविर सञ्चालन गरिएको यो निजगढ तिलगंगा आँखा अस्पतालको पहिलो अभियान हो।
