खोजी गर्ने क्रममा उनीहरुलाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
हेटौंडा — विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका पाँच जना पक्राउ परेका छन् । खोजी गर्ने क्रममा उनीहरुलाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका–९ का पंकज मण्डललाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । मण्डललाई जिल्ला अदालत मकवानपुरले ५ वर्ष अघि कुटपिट मुद्दामा १ वर्ष २६ दिन कैद र २ सय रुपैया जरिवाना गर्ने फैसला गरेको थियो ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–६ का ३५ वर्षीय शंकर सार्कीलाई पक्राउ गरेको छ । अदालतले उनलाई सवारी ज्यान मुद्दामा ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
हेटौंडा उपमहानगरपालिका–६ का ३५ वर्षीय राजकुमार चौलागाईलाई चेकअनादर मुद्दामा पक्राउ गरेको छ । यसैगरी भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय रोहित मिजार र भिमफेदी–३ का ३४ वर्षीय रचिन बूढाथोकी पक्राउ परेका छन् ।
उनीहरुलाई चेक अनादर मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार चालु आवको साउन महिनादेखि पुस १३ गतेसम्म ४२ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
