संघीय व्यवस्थालाई प्रभावकारी र जनमुखी बनाउन संघले नीति निर्माणमा केन्द्रित हुने र विकास निर्माणका काम प्रदेश सरकारले गर्ने व्यवस्था आवश्यक रहेको उनले बताए ।
What you should know
काभ्रे — बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले विकास निर्माणका कार्यको स्पष्ट जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन्।
संघीय व्यवस्थालाई प्रभावकारी र जनमुखी बनाउन संघले नीति निर्माणमा केन्द्रित हुने र विकास निर्माणका काम प्रदेश सरकारले गर्ने व्यवस्था आवश्यक रहेको उनले बताए ।
आइतबार काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समितिले आयोजना गरेको संघ, प्रदेश र स्थानीय सरकार बीचको अन्तरक्रियामा मुख्यमन्त्री बानियाँले विकासका काम प्रदेशले र नीति निर्माणको जिम्मा संघ सरकारले लिएमा संघीयता अझ बलियो बन्ने बताए।
यस्तो व्यवस्थाले जनमुखी, गरिबमुखी तथा न्यायमुखी विकास सम्भव हुने उनको तर्क थियो । मुख्यमन्त्री बानियाँले हाल नेपालमा रहेको संवैधानिक व्यवस्था संसारकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै यसलाई कार्यान्वयनको चरणमा देखिएका कमजोरी र अपूर्णताहरु सच्याउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए। ' नेपालको संविधान राम्रो छ, तर कार्यान्वयनमा चुनौती छन्,' उनले भने, 'ती चुनौती समाधान गर्दै संघीय संरचनालाई जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ।'
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले संघ र प्रदेश सरकारप्रति गुनासो व्यक्त गरेका थिए । उनीहरूले गत वर्ष असोजमा आएको बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरू अझै पुनर्निर्माण हुन नसकेको र संघ तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासाे गरेका थिए ।
पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको जनप्रतिनिधिहरूको गुनासो थियो । स्थानीय सरकारका प्रतिनिधिहरूले विपद् व्यवस्थापन, पुनर्निर्माण र विकास आयोजनामा अधिकार, स्रोत र समन्वय स्पष्ट हुन नसक्दा समस्या देखिएको बताए ।
संघ, प्रदेश र स्थानीय सरकार बीच भूमिकाको स्पष्ट बाँडफाँड आवश्यक रहेको उनीहरुको भनाइ थियो । संघीयता सफल बनाउन व्यवहारिक सुधार, स्रोतको न्यायोचित बाँडफाँड र विकास निर्माणमा प्रदेश तथा स्थानीय तहलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा संघीय संरचनाभित्र तीनै तहका सरकार बीच समन्वय, सहकार्य र विश्वास बढाउनुपर्ने विषयमा पनि छलफल गरिएको थियो ।
