हेटौंडामा आइतबारदेखि सडक खाना महोत्सव

मकवानपुर होटल एसोशिएसनले आइतबारदेखि हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरस्थित सडकमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।

पुस १२, २०८२

प्रताप विष्ट

Street food festival to begin in Hetauda from Sunday

हेटौंडा — हेटौंडामा १२ औं सडक खाना महोत्सव आइतबारदेखि हुने भएको छ ।

मकवानपुर होटल एसोशिएसनले आइतबारदेखि हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरस्थित सडकमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।  

‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ होटल एसोशिएसन मकवानपुरले ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ । सडक खाना महोत्सव पुस १६ गतेसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म संचालन हुने आयोजक जनाएको छ ।

महोत्सवमा सांस्कृतिकदेखि आधुनिक किसिमका विभिन्न खानाका परिकार बिक्री गरिने छ । मनोरञ्जनका लागि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारले प्रस्तुति गर्ने छन् । 

महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । एउटा स्टल राख्न ४ दिनको १० हजार रुपैयाँ शुल्क लाग्नेछ । खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिने र व्यवसायीलाई दैनिक फोहोर व्यवस्थापन गर्न लगाइने आयोजकले जनाएको छ । खानाको मेनु प्रत्येक स्टलमा अनिवार्य राख्नु पर्नेछ ।

महोत्सव व्यवस्थापनमा १५ लाख ७२ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । स्टलबाट ७० देखि ८० लाखसम्म व्यापार हुने अनुमान गरिएको छ । महोत्सवमा ३० देखि ४० हजार अवलोकनकर्ता आउने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर आपतकालीन अवस्थाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा एम्बुलेन्स र हेटौंडा उपमहानगरपालिकाद्वारा दमकलको व्यवस्था गरिएको छ । यसैगरी, मकवानपुर सहकारी अस्पतालका टोलीले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully