हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने र तीन छोराछोरीका नाममा घर, सम्पत्ति पास गराउनुपर्ने माग राख्दै स्थानीय तथा पीडित परिवारले दैनिक रूपमा प्रदर्शन तथा आन्दोलन गरिरहेका छन् ।
What you should know
सिन्धुली — पुस ६ गते, आइतबार सिन्धुलीको कमलामाई नगरपालिका–४ बीपी नगरकी ३२ वर्षीय सुशीला घिसिङ बम्जन दुई छोरी र एक छोरा विद्यालयबाट पढाइ सकेर आएपछि अपराह्न खाजा खुवाएर अरु दिनझैं ट्युसन पुर्याइन् । फर्केर आउँदा भान्सामा रिसाएको अवस्थामा नन्द ३५ वर्षीय मिना बम्जन बसिरहेकी थिइन् ।
सुशीला घरायसी धन्दामा लागिन् । हत्याको योजना बनाइसकेकी नन्द मिनाले अकस्मात् सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाइ बाहिरबाट ढोकामा चुकुल लगाइदिइन् ।
हारगुहार गरे पनि सुशीलाको केही लागेन, अन्ततः उनको घटनास्थलमै मृत्यु भयो ।
घटनापछि प्रहरीले नन्द मिना र सासु ६० वर्षीय मायारानी बम्जनलाई पक्राउ गर्यो । बुहारीलाई बचाउन गएको भनिएका ससुरा ६५ वर्षीय दुर्गामान केही जलेका छन् । उनी पहिलेदेखि नै प्यारालाइसिसका रोगी हुन् । प्रहरीलाई नन्द मिनाले दिएको बयानमा आफूले पेट्रोल छर्केर भाउजूलाई आगो लगाइ ढोका बन्द गरेको र आमा मायारानीले चेनल गेट बन्द गरेको बताएकी छन् ।
स्मरणीय यो छ कि ससुरा दुर्गामान हत्या गरिएकी सुशीलाकी आफ्नै मामा हुन् । वैदेशिक रोजगारीका लागि सुशीलाका श्रीमान् दुई वर्षदेखि कोरियामा छन् । सुशीलाका बाबु प्रेमबहादुर घिसिङले नन्द, सासु र ससुरा मिलेर छोरीको हत्या गरेको किटानी जाहेरी दिएका छन् । नन्द मिना र सासु मायारानी प्रहरी हिरासतमा छन् । ससुरा दुर्गामान प्रहरीकै निगरानीमा उपचाररत छन् ।
बीपी नगरको घरमा सामा निकाल्न सिलबन्दी गरिएको घर खोलिएपछि स्थानीयहरू आक्रोशित बनेपछि तोडफोड गरिएको र आगजनीको प्रयास गरिएपछि प्रहरीले टियर ग्यास प्रयोग गर्दासमेत भिड नियन्त्रण नहुँदा हिजो कर्फ्यु लगाउनु परेको थियो । स्थानीयले आक्रोशित भिडले ढुंगामुढा गर्दा १२ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूले प्रहरी प्रशासनविरुद्ध पनि प्रदर्शन गरेका छन् । शिलबन्दी गरिएको घरमा सामान निकाल्न सहमति बिना प्रवेश दिएको भन्दै स्थानीय आक्रोशित छन् भने प्रहरीले पीडित पक्षकै सहमतिमा सामान निकाल्न दिएको बताएको छ ।
पीडित पक्षकै सहमतिमा घरमा भएका लुगाफाटा र सामान निकाल्न दिँदा समस्या भएको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । 'कानुन अनुसार काम गर्दा आक्रोशित भिडले कुरा नबुझ्दा प्रहरी प्रशासन पीडितको विरुद्धमा गएको जस्तो भएको हो, हामीले पीडकलाई कानुनी दायरामा ल्याइसकेका छौं', उनले भने, ‘ती बालबच्चाका लगाफाटा र भान्साका सामग्री झिक्न पीडित पक्षकै सहमति दिइएको थियो । स्थानीयले भने प्रमाण नष्ट हुने शंका गरेका छन् ।'
प्रहरीले आगो लगाएर हत्या गर्ने नन्द मिनाको बयानका आधारमा ससुरा दुर्गामान र पति सूर्य बम्जनलाई पनि पक्राउ पुर्जी जारी गरेको छ । ससुरा दुर्गामान प्रहरीकै निगरानीमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । कोरियामा रहेका पतिलाई झिकाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न चारै जनालाई पक्राउ र तीन छोराछोरीका नाममा घर, सम्पत्ति पास गराउनुपर्ने माग राख्दै स्थानीय तथा पीडित परिवारले दैनिक रूपमा प्रदर्शन तथा आन्दोलन गरिरहेका छन् ।
