मकवानपुरको क्षेत्र नम्बर २ बाट रामनारायण विडारीको नाम सिफारिस
हेटौंडा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २१ जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ ।
मकवानपुरमा प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट नेकपाका नेता एवं पूर्वमन्त्री विरोध खतिवडा, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, नेकपाका नेताद्वय विजय गौतम र धनप्रसाद गौतमको नाम सिफारिस गरिएको छ ।
यसैगरी प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय मकवानपुरका प्रमुख ललित घलान, भीम पाख्रिन, सर्केश घलान, किशोरी टन्डनलगायत १३ जनाको नाम सिफारिस गरिएको छ ।
२ नम्बर क्षेत्रका लागि नेकपाका नेता एवं पूर्वमन्त्री विरोध खतिवडा, नेकपाका नेता रामनारायण विडारी, थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्ट, प्रदेशसभा सदस्य कुमारी मोक्तान, वीरबहादुर घलान, किशोर बर्तौला, सागर उप्रेतीलगायत ८ जनाको नाम सिफारिस गरेको नेकपा मकवानपुरका संहसंयोजक ध्रुव भुजेलले बताए ।
यसैगरी समानुपातिकतर्फ मुनु सिग्देल, तारानाथ खतिवडा, दिलबहादुर स्याङ्बो, विष्णुमाया लामा, प्रमिला पुलामी, लक्ष्मी पाख्रिन बालकृष्ण चौलागाईं, खुशीलाल चेपाङ, रामचन्द्र बल, रामहरि सुवेदी, कृष्ण चेपाङसहित २० जनाको नाम सिफारिस गरिएको सहसंयोजक भुजेलले बताए ।
