घर जलेपछि तामाङ परिवारको बिचल्ली

आगलागीबाट कच्ची घर पूर्णरूपमा जलेपछि तामाङ परिवार खुला आकाशमूनि बस्न बाध्य भएको छ।

पुस ११, २०८२

अनिश तिवारी

Tamang family devastated after house burns down

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका–३ गेसेर डाँडा साउनेमा विद्युत सर्ट भएर आगलागीमा घर जलेपछि स्थानीय खेलबहादुर तामाङ परिवार बिचल्लीमा परेको छ।

बाह्रबिसे नगरपालिकाको विपद् शाखा प्रमुख दुर्गाप्रसाद भण्डारीका अनुसार बिहीबार राति करिब साढे तीन बजे विद्युत सर्ट भएर आगो सल्किएको थियोे । 'कसरी आगो लाग्यो थाहा नै भएन, घर जोगाउने समयसमेत पाइएन । जे थियाे सबै गयो, अब फेरि कसरी घर बनाउनु ?,' तामाङले भने ।

आगलागीबाट तामाङको कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसमेत खरानी भएपछि तामाङ परिवार खुला आकाशमूनि बस्न बाध्य भएको छ।

घटनालगत्तै स्थानीय तथा विभिन्न सहयोगीले शुक्रबार आपतकालीन तथा आधारभूत सामग्रीसहित खाद्यान्न सहयोग गरेका छन्। बाह्रबिसे नगरपालिकाले पनि राहतस्वरूप दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले प्रारम्भिक राहत उपलब्ध गराइसकेको र थप सहयोगका लागि प्रक्रिया अघि बढाइएको भण्डारीले बताए। 

घर र जीविकोपार्जनकाे साधन गुमाएपछि तामाङ परिवार अन्योलमा परेको छ। चिसो मौसममा अस्थायी बसोबास र दीर्घकालीन पुनःस्थापनाका लागि स्थानीय तह तथा सरोकारवालाबाट सहयोगको अपेक्षा गरिएको स्थानीयले बताए । 

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully