मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा सुन्तलाविज्ञ, किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ

पुस ११, २०८२

रासस

Orange Festival begins in Muglin today

What you should know

मुग्लिन (चितवन) —  आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो ।  

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको  आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका  सुन्तला उत्पादन गर्ने सयभन्दा बढी किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ । 

महोत्सवमा सुन्तलाविज्ञ, किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले ९ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला रसिलो हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनको भनाइ छ ।  सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न  गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ ।

सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ । 

रासस

Link copied successfully