पेट्रोल छर्केर महिलाको हत्या भएको घटनाले स्थिति असामान्य : प्रशासनले लगायो कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिका-४ र ६ वडामा कर्फ्यु आदेश जारी गरेको हो ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

The incident of a woman being doused with petrol and murdered has created an unusual situation: Administration imposes curfew

What you should know

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

गत आइतबार पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएकी बम्जनको घरमा बिहीबार अपरान्ह ढुङ्गामुढा भएपछि थियो  । 

परिवारका सदस्यले प्रमाण नष्ट गर्ने उद्देश्यले शिल गरिएको घरमा प्रवेश गरेको भन्दै ठूलो संख्यामा आएका आक्रोशित स्थानीय तथा पीडित पक्षले घर घेरेर तोडफोड गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । तर, स्थिति नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु आदेश जारी भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुकी साढे आठ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कमलामाई नगरपालिका-४ र ६ वडामा कर्फ्यु आदेश जारी गरेको हो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी आदेशमा कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनालाई लिएर स्थानीयबासीबाट ढुङ्गामुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएकाले कर्फ्यु आदेश जारी गर्नुपरेको उल्लेख छ ।

आदेशमा भनिएको छ, ‘उक्त अवधिमा सवारी आवागमन, भेला–जुलुस तथा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट, दक्षिणमा धुराबजार चोकभित्र सर्वसाधारण तथा अत्यावश्यक बाहेकका सवारीसाधनको आवाजावत, कुनै पनि किसिमको भेला जुलुस र भेलाजन्य कार्यहरू, पाँच जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ ।’

गत आइतबार धुराबजारकी बम्जनलाई भान्सा कोठाभित्र ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन)ले योजनाबद्ध रूपमा आगो लगाएर हत्या गरेको आरोप छ । आरोपी दुवै पक्राउ परिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully