पवित्र देवघाटलाई प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत ३७ डस्बिन राखी, फोहोर व्यवस्थापन र जनचेतना कार्यक्रम विस्तार गरिने भएको छ ।
What you should know
चितवन — देवघाटको धार्मिक क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा भोलि शुक्रबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लास्टिकमुक्त घोषणा गर्न लागिएको हो ।
यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिन राखिएको छ । जसमा प्लास्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो ।
क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लास्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए । समितिभित्रको ५ हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेको उनले बताए ।
सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए । देवघाटको दाहासंस्कार स्थलको फोहोर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनी बताउँछन् । 'अहिले देवघाट क्षेत्रमा प्लास्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरु गरिएको छ,' उनले भने ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लास्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
