‘अब देवघाट आउँदा प्लाष्टिक नबोक्नु’

चितवनको भरतपुर महानगरपालिका, तनहुँको देवघाट गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिकासँग सहकार्य गर्दै देवघाट क्षेत्र विकास समितिले यो अभियानको नेतृत्व गरेको हो ।

मंसिर २७, २०८२

रमेशकुमार पौडेल

'Now don't carry plastic when you come to Devghat'

What you should know

चितवन — प्रसिद्ध धार्मिक स्थल देवघाटधामलाई सफा राख्न फोहर मैला व्यवस्थापनका लागि ‘प्लाष्टिक मुक्त देवघाट’ बनाउने अभियान सुरु भएको छ ।

‘अब छिट्टै नै हामी देवघाटधामलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्दै छौं । त्यसका लागि तयारीहरु अगाडि बढेका छन् । घोषणापछि पनि हामी नियमित अनुगमन गर्ने छौं,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारीले भने ।

देवघाटधामले चितवनसहित तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापुर्व)लाई छोएको छ । चितवनको भरतपुर महानगरपालिका, तनहुँको देवघाट गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिकासँग सहकार्य गर्दै देवघाट क्षेत्र विकास समितिले यो अभियानको नेतृत्व गरेको हो ।

गैंडाकोटको सहमति नामक गैर सरकारी संस्थाले यसका लागि सहयोग गरेको छ । सहमतिको ‘नदीसँग हामी’ परियोजना अन्तर्गत नदी सरसफाइलाई जोड्दै देवघाटधामलाई प्लाष्टिक र अन्य फोहरमुक्त क्षेत्र घोषणा गर्न लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । 

सहमति संस्थाका तारानाथ सुवेदीले तीनवटै पालिकाका वातावरण शाखाका प्रतिनिधि, वडा प्रतिनिधि र क्षेत्र विकास समितिबीच साझा कार्यक्रम र धारणा बनाउन कामहरु भइरहेको बताए ।

‘देवघाट क्षेत्रमा १६ वटा सार्वजनिक शौचालय बनेका छन् । ठाउँ–ठाउँमा डष्टबिनहरु राख्ने काम भएको छ । डुङ्गा सञ्चालकहरुलाई पनि फोहर व्यवस्थापन बारे सचेत बनाएका छौं,’ सुवेदीले भने । 

देवघाट क्षेत्र ५४३ हेक्टरमा फैलिएको छ । दामोदरकुण्ड मुहान भएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आउने त्रिशुली नदीको मिलन देवघाटधाममा भएको छ । कालिगण्डकी र त्रिशुलीको संगममा देवताहरु पनि स्नान गर्न आउने धार्मिक विश्वास रहेका कारण यो क्षेत्र हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि महत्त्वपूर्ण तिर्थस्थल मानिन्छ । 

‘तर यहाँ पछिल्लो समय निकै फोहर हुने गरेको गुनासो बढेको छ । त्यसैले सफाइ अभियान चलाउन आवश्यक भएको हो,’ क्षेत्र विकास समितिका अध्यक्ष लौडोरीले भने । पवित्र मानिएका नदी तटमा प्लाष्टिक यत्रतत्र असरल्ल देखिन्छ ।

‘हामी अनुरोध गर्दछौं देवघाट आउँदा प्लाष्टिक नल्याउनु होस् । फोहर नगर्नु होस् । फोहर गरेर, नदी र माटो बिगार्ने प्लाष्टिक प्रयोग गरेर धर्म हुँदैन,’ अध्यक्ष लौडारीले भने । सहमतिले चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दुवैतर्फ नारायणी नदी किनारमा हुने फोहरको लेखाजोखा गरेको छ । जसमा प्लाष्टिक फोहर अत्याधिक पाइएको लेखाजोखा कार्यमा संलग्न इन्जिनियर सागर कार्कीले बताए ।

भरतपुर महानगरपालिकाले देवघाटलाई प्लाष्टिकमुक्त बनाउने कार्यक्रम नगर परिषदबाट पारित गरेको छ । ‘भएका नीतिगत व्यवथालाई कार्यान्वयन गरे हाम्रा धार्मिक स्थलहरुलाई प्लाष्टिक मुक्त र फोहर मुक्त बनाउन सजिलै सकिन्छ,’ कार्कीले भने । देवघाटधाम नुहाउन, पुजा गर्न मात्रै हैन दिवंगतहरुको दाहसंस्कार गर्न पनि टाढाटाढाबाट आउने चलन बढ्दो छ ।

दाहसंस्कार स्थललाई सफा राख्न पनि चुनौती बन्दै गएको छ । कपाल खौरने ब्लेडदेखि घरबाट ल्याएका लत्ता कपडा असरल्ल फालेको भेटिन्छ । यसलाई रोक्न नियमित सरसफाइ कर्मचारी खटाउने, फोहर राख्नका लागि डष्टबिनहरु व्यवस्था गर्ने र ब्लेड र खौरेको कपाल असरल्न नफाल्न ब्लेड राख्ने ठाउँहरुको पनि व्यवस्था गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

देवघाट प्लाष्टिक निषेधित क्षेत्र हो भन्ने कुरा घर घरमा पुर्‍याउन टोल विकास समितिहरुलाई अभियानमा खटाइने क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारीले बताए । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नदी सफाइका बारेमा १५० भन्दा बढी जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका कारण देवघाट सफाइमा फलदायी परिणाम आउने आशा व्यक्त गरे ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully