आईटी मिटको मुख्य कार्यक्रम पुस ११ गते प्रोजेक्ट प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुनेछ ।
काभ्रे — काठमाडौं विश्वविद्यालयमा ‘आईटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा मिट सञ्चालन गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
साढे २ दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको क्लबले प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्न मिट आयोजना गर्दै आएको छ । सोहीअनुरुप यस वर्ष पनि आयोजना गरिएको क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिए । उनका अनुसार क्लबले विद्यार्थीलाई उनीहरूको प्राविधिक क्षमता, नेतृत्व र सिर्जनशीलता प्रदर्शन गर्ने उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।
कनेक्ट, कम्प्युटर, क्रियट भन्ने मूल नाराका साथ पुस ८ देखि ११ सम्म सञ्चालन हुने आईटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको उनले बताए । मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर हर’, ‘वी सिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको उनले जानकारी दिए ।
मिटको मुख्य कार्यक्रम पुस ११ गते प्रोजेक्ट प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुनेछ । करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ, जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किडको मौका पाउनेछन् । ‘दी एआई वेभ : इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आईटी क्विज’ लगायत विविध कार्यक्रम रहेका छन् ।
