सातै प्रदेशमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै ललितकला प्रतिष्ठान

सातै प्रदेशबाट छनौट भएका कलाहरुलाई जेठ १५ गतेबाट काठमाडौंमा हुने प्रदर्शनीमा सामेल गराएर उत्कृष्ठ छनौट गरी पुरस्कृत पनि गरिनेछ ।

पुस ८, २०८२

रमेशकुमार पौडेल

Fine Arts Academy holding competitive exhibitions in all seven provinces

What you should know

चितवन — नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका सातै प्रदेशमा प्रदेश स्तरीय र अन्तिममा राष्ट्रिय स्तरको ललितकला प्रदर्शनी गर्ने भएको छ ।

प्रदेश स्तरीय कला प्रदर्शनीको आरम्भ गण्डकी प्रदेशको गैंडाकोटबाट सुरु हुने छ । फागुन पहिलो साता बागमती प्रदेशको कला प्रर्दशनी सकिएपछि जेठमा राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुने प्रतिष्ठनाका सदस्य सचिव देवेन्द्र थुमकेलीले जानकारी दिए । 

गैंडाकोट नगरपालिकाको गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेश स्तरीय कला कार्यशाला तथा प्रदर्शनी हुने छ । माघ १५ गते गैंडाकोटमा सुरु हुने प्रदर्शनी पाँच दिनसम्म चल्ने गैंडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्माले बताए । जसमा गण्डकी प्रदेशका सवै जिल्लाबाट १५० वटासम्म कलाकृतिहरु समावेश हुने अपेक्षा राखेको उनको भनाइ छ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव थुम्केलीका अनुसार सातै प्रदेशबाट छनौट भएका कलाहरुलाई जेठ १५ गतेबाट काठमाडौंमा हुने प्रदर्शनीमा सामेल गराइने छ । त्यहीँबाट उत्कृष्ठ कला छनौट गरी पुरस्कृत पनि गर्ने उनले बताए । समसामयिक चित्रकला, मुर्तीकला, परम्परागत मुर्तीकला, शिल्प हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक विधा गरी आठ विधामा प्रतिष्पर्धा हुने थुम्केलीले जानकारी दिए । ‘काठमाडौंमा हुने प्रदर्शनीबाट उत्कृष्ट कला घोषणा गरी पुरस्कृत गर्ने छौं । आठै विधामध्येबाट देशकै सर्वोत्कृष्ट कलालले एक लाख रुपैयाँ पुरस्कार पाउने छ,’ सदस्य सचिव थुम्केलीले भने ।

विधागत रुपमा आठै विधाका उत्कृष्ठ कलाले ६० हजार रुपैयाँ पुरस्कार पाउने पनि उनले बताए । प्रदेश स्तरमा सर्वोत्कृष्ट हुनेले ५० हजार रुपैयाँ र विधागत उत्कृष्टले ३० हजार रुपैयाँ पाउने पनि उनले बताए । ‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नारासँग तालमेल हुने गरी कला तयार गर्नुपर्ने उनले बताए ।

‘कला क्षेत्रले राष्ट्रलाई ठूलो योगदान दिएको छ । वर्षमा २७ अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात हुन्छ । आन्तरिक बजारलाई जोड्दा ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । यसलाई प्रवर्द्धन गर्न सके आन्तरिक र बाहृय गरी एक खर्ब रुपैयाँ बराबरको कारोबार हुने र लाखौंलाई रोजगारी दिन सक्ने अवस्था छ,’ थुम्केलीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully