पहिरोमा पुरिएर एक जना टिपर चालक घाइते भएका छन् ।
काभ्रे — मंगलबार साँझ ५ः३० बजे काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित रोशीमा ढुंगा उत्खनन गर्ने क्रममा पहिरो झर्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, मृतक एक्स्काभेटर चालक खानीखोला गाउँपालिका वडा नं २ घर भई हाल पनौती नगरपालिका वडा नं ९ स्थित सुनथान बस्दै आएका अन्दाजी ३५ वर्षीय रामबहादुर तिमल्सिना रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
उनका अनुसार, पहिरोमा पुरिएर टिपर चालक पनौती नगरपालिका वडा नं १२ का अन्दाजी ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन् । उनलाई उद्धार गरेर उपचारको लागि जिल्लास्थित शिर मेमोरियल अस्पताल पठाइएको प्रहरी प्रमुख शाहले जानकारी दिए । घटनाबारे अन्य विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।
