चेपाङ बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

खैरहनीको फिटजोन पर्साले चेपाङ समुदायका १६५ विद्यार्थीलाई स्टेशनरी र न्यानाे लुगा तथा खाजा सामग्री जुटाएर उपलब्ध गरेको हो ।

पुस ८, २०८२

रमेशकुमार पौडेल

Educational materials and warm clothing provided to Chepang children

चितवन — पहाडी गाउँ कान्दाको कान्देश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरीका साथै न्यानो लुगा र खाजा सहयोग पाएका छन् ।

राप्ती नगरपालिका–१३ मा कान्दामा रहेको ८ कक्षासम्म संचालित उक्त विद्यालयमा चेपाङ समुदायका १६५ विद्यार्थी छन् । खैरहनीको फिटजोन पर्साले सहयोग सामग्री जुटाएर आइतबार कान्दामै गएर बालबालिकालाई उपलब्ध गरेको हो ।

कान्दामा लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्राबासमा निःशुल्क बस्दै आएका ती बालबालिका आडैको कान्देश्वरी विद्यालयमा पढ्दै आएका छन् ।

उनीहरुलाई स्टेशनरी अपुग हुने देखेर पर्सा फिटजोनको सक्रियतामा चितवन जिल्ला शारिरीक सुगठन तथा फिटनेस संघ र चितवन उद्योग संघ खैरहनीको महिला उद्यमी मञ्चसँग सहकार्य गरेर सहयोग जुटाएको स्थानीय अगुवा मुरलीप्रसाद गजुरेलले जानकारी दिए ।

करिब एक लाख रुपैयाँ बराबरको १ हजार ४४० थान कापी, ३ सय वटा पेन्सिल, इरेजर, हृवाइट बोर्डलगायतका शैक्षिक सामान सहयोग गरेको गजुरेलले बताए । त्यसैगरी १६० थान न्यानो टोपी, १७५ जोर मोजा, ५० केजी आलुसहित भुजा, चिउरा, दालमोठ, पाउरोटी, चाउचाउ, बिस्कुट, दन्त मञ्जन, ब्रस जस्ता सामान र गाउँका साना बालबालिका तथा बृद्धबृद्धाका लागि पनि न्यानो कपडा उपलब्ध गराएको उनले बताए ।

राप्ती नगरपालिकाको विकट बस्ती कान्दा पुग्न कम्तीमा तीन घण्टा पैदल पहाडी बाटो हिँड्नु पर्ने बाध्यता छ । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully