मकवानपुरमा ९ वटा मतदान केन्द्र थपियो

अघिल्लो निर्वाचनमा मकवानपुर जिल्लामा १ सय ६७ वटा मतदानस्थल थिए ।

पुस ८, २०८२

प्रताप विष्ट

9 polling stations added in Makawanpur

हेटौंडा — मकवानपुरमा मतदाता संख्या बढेकाले मतदान केन्द्र नौ (९) वटा थपिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गत निर्वाचनको भन्दा ९ वटा मतदान केन्द्र थपिएको हो ।

अघिल्लो निर्वाचनमा मकवानपुर जिल्लामा १ सय ६७ वटा मतदानस्थल थिए । अहिले पनि त्यसैलाई कायम गरिएको छ तर मतदान केन्द्र ९ वटा वढेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताए । 

‘अघिल्लो निर्वाचनमा मतदान केन्द्र ३६७ वटा थियो, अहिले त्यो संख्या वढेर ३७६ वटा मतदान केन्द्र रहने छ’ उनले भने । अघिल्लो निर्वाचनमा मकवानपुरमा ३ लाख २ हजार २ सय ४३ जना मतदाता रहेका थिए । 

तर अहिले १४ हजार १ सय २१ जना मतदाता थपिएकाले मतदाताको संख्या ३ लाख १६ हजार ३ सय ६४ पुगेको छ । मृत्यु भएका मतदाता संख्या २ सय १ र दुई जिल्लामा मतदाता भएका कारण ६८३ जना मतदाताको नाम हटाइएकाले मकवानपुरमा कुल मतदाताको संख्या ३ लाख १५ हजार ४ सय ८० जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully