लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनामा लागुऔषध ओसारपसार गरेको आरोपमा १४२ जना पक्राउ परेका छन्।

पुस ७, २०८२

प्रताप विष्ट

Two youths arrested with drugs

हेटौँडा — मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिकाबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–६ का २३ वर्षीय शेख महफुल आलम र सोही स्थानका २० वर्षीय शाहिल शेख रहेका छन्।

हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित खानीखेत प्रहरी चौकीबाट खटिएको प्रहरीले हेटौडाबाट काठमाडौंतर्फ गइरहेको बा ५१ प २२०९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि प्लास्टिकको पोका भित्र लुकाएर ल्याएको २०० पिस नाइट्रोजेपाम बरामद गरेको हो।

प्रहरीले लागुऔषधसहित मोटरसाइकल चालक आलम र मोटरसाइकल पछाडि सवार शेखलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनामा लागुऔषध ओसारपसार गरेको आरोपमा १४२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २८९ जना पक्राउ परेका थिए।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully