५/७ जनाको समूहमा आएकाले आइतबार राति स्वास्थ्य केन्द्रको उपचार कक्ष, आकस्मिक कक्ष, ल्याबसहित फर्निचरसहितका संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
What you should know
दोलखा — चौबिसै घन्टा सेवा दिँदै आएको गौरीशंकर गाउँपालिका–५ सुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरिएको छ ।
आइतबार राति १० बजेतिर मादक पदार्थ सेवन गरेर रक्तचाप परीक्षण गर्ने भन्दै स्वास्थ्य केन्द्रमा प्रवेश गरेका ५/७ जनाको समूहले तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । उनका अनुसार ५ /७ को मादक पदार्थ सेवन गरेको समूहले स्वास्थ्य परीक्षण गर्ने भन्दै प्रवेश गरेर तोडफोड र रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।
स्वास्थ्य केन्द्र तोडफोड र आक्रमण प्रयास भएपछि स्वास्थ्यकर्मी त्रसित बनेका छन् । उक्त समूहले स्वास्थ्य केन्द्रको उपचार कक्ष, आकस्मिक कक्ष, ल्याबसहित फर्निचरसहितका संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
दुर्गम भेगका स्थानीयलाई चिकित्सकसहितको सेवा दिँदै आएका स्वास्थ्य केन्द्र तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास भएपछि सेवा सञ्चालनमा कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए । ‘हाल तोडफोडले के कति क्षति भएको छ त्यसको विवरण लिने र तत्काल सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘आकस्मिक सेवा सञ्चालनमा रहेको र आक्रमण गर्ने समूहको पहिचानका लागि सीसीटीभी फुटेज प्रहरीलाई बुझाएका छौं ।’
प्रहरीले आक्रमण र तोडफोड गर्ने समूहको पहिचान गरिरहेको र उनीहरुको खोजी भइरहेको जनाएको छ । तोडफोडमा संलग्नलाई खोजी गरिरहेको निरीक्षक तिमल्सिनाले बताए ।
यस्तै, स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रहरी प्ररिचालन सोमबार बिहानैबाट परिचालन गरिएको उनले बताए । सुरी प्रथामिक स्वास्थ्य केन्द्रले ल्याबसहित दुर्गमका स्थानीयलाई केन्द्र चौबिसै घन्टा सेवा दिँदै आएको छ ।
